विप्लव नेतृत्वको नेकपा संसद विघटनविरुद्ध सडकमा उत्रने

काठमाडौं, पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ ।
हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग मिलेर सडकमा उत्रन लागेको हो ।
संसद विघटनलाई गैरसंवैधानिक कदमको संज्ञा दिँदै चार पार्टीले मोर्चाबन्दी गर्न लागेका हुन् । ती सबै पूर्वमाओवादीबाट चोइटिएका समूह हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले वैदेशिक शक्तिको आड भरोसा र इशारामा संसद् विघटन गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।
उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।’ इमेजखबरमा  समाचार छ ।