राष्ट्रियसभाको हिउँदे अधिवेशन छ महिनापछि बस्दै

काठमाडौं । शुक्रबारदेखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
हिउँदे अधिवेशनको पहिलो दिनको बैठकको तयारीका लागि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले पहिलो बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो । दलका नेताहरुले सम्बोधन पछि शोक प्रस्ताव पारित गर्ने बैठकको कार्यसूची छ ।
पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको थियो । गत असार १८ गते संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको थियो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि अब संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका बैठकमा मात्र बस्नेछन् । बुधबार अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको हिउँदे अधिवेशन लामो समयसम्म नचल्ने बताइसक्नुभएको छ ।। इमेजखबरमा समाचार छ ।