खाँचीकोटको डिहिडाँडामा छोरीले बाबुको दागबत्ती दिईन्, काजकिरिया गरिन्

 अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडामा छोरीले बाबुको काजकिरिया गरेकी छिन् । 
हिन्दु परम्परा अनुसार हाम्रो समाजमा सामान्यतया बाबुआमाको मृत्युपछि दागबत्ती दिने र काजकिरिया गर्ने काम छोराले मात्र गर्नु पर्छ र छोरीले गर्नु हुँदैन भन्ने मान्यतालाई चुनौती दिदै खाँचीकोटको डिहिडाँडाकी रन्जना केसीले आफ्ना बाबु स्व. मान बहादुर केसीको मृत्युपछि उनको पार्थीव शरीरमा दागबत्ती दिने र काजकिरियाको काम आफैले हिन्दु परम्परा अनुसार गरेकी हुन् । 
हिन्दु धर्म सस्कारमा छोरीले किरिया गर्नु हुदैन भन्ने कहि कतै उल्लेख नभएको तर हाम्रो समाजको लैङ्गिक बिभेदका कारण छोरीलाई काजकिरियामा सरिक नगराउने गरेको भएता पनि बर्तमान समयमा कहि कतै छोरिहरुले काजकिरिया गरेको सुन्न पाइन्छ । तर यस क्षेत्रको लागि भने यो काम पहिलो र एउटा उदाहरणको रुपमा स्थापित हुन पुगेको छ । 
छोरी रन्जनाको यस कार्यलाई समाजिक अभियान कर्ता र महिला अधिकारकर्मी तथा यस क्षेत्रको समुदायले खुलेर प्रसंसा गरेको देखिन्छ । 
स्व. मान बहादुर केसीको पौष १० गते ५३ वर्षको अल्पआयुमै निधन भएको थियो ।  रञ्जना स्व. मान बहादुर केसीकी  एकमात्र छोरी हुन् ।