अर्घाखाँचीमा क्षति पुगेका ६३१ निजी आवास पुनर्निर्माण सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) पौष २० ।  २०७२ सालमा गएको बिनासकारी भूकम्पबाट अर्घाखाँचीमा क्षति पुगेका ६ सय ३१ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सोहिन्दर यादवका अनुसार हालसम्म अर्घाखाँचीमा ६ सय ३१ जनाले निजी आवास पुनर्निर्माण तर्फको अन्तिम अर्थात तेस्रो किस्ता लिएका छन् ।
अर्घाखाँचीका कूल १ हजार ३३६ लाभग्राहीमध्ये हालसम्म ११ सय ९० लाभग्राहीहरूले पहिलो किस्ता लिइसकेका छन् भने, दोस्रो किस्ता लिनेको संख्या ७ सय ३४ रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । यस्तै प्राविधिक आउनु पूर्व १ सय २२ जना लाभग्राहीले पुनर्निर्माण कार्य सम्पन्न गरेको हुनाले लाभग्राहीहरुलाई एकमुष्ट अनुदान रकम समेत प्रदान गरीएको यादबको भनाई रहेको छ ।
अनुदान सम्झौतागरी पुनर्निर्माण नगर्ने २० जना लाभग्राहीहरुले भने स्वतःस्र्फुत रुपमा पहिलो किस्ता वापतको रकम फिर्ता गरेका छन । यता पौष १५ गते सम्म सम्झौता गर्न नआएका १४४ जनाको बिवरण केन्द्रिय आयोजना एकाईमा पठाइएको कार्यालयले जनाएको छ ।
यसैबिच आ.ब २०७५/०७६ मा गरीएको छुट तथा पुनः जाँच सर्बेक्षणबाट गैर लाभग्राहीमा कायम भई आएका २ सय लाभग्राहीको पुनराबेदनका लागी राष्ट्रिय पुनर्निमार्ण प्रधिकरणको पुनराबेदनमा पठाइएकोे छ । प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले तेस्रो किस्ता लिनेको संख्या कम रहेको कार्यालय प्रमुख यादबको भनाई छ ।
कतिपयले प्राबिधिकसंग सल्लाह नगरीकनै घर पुनर्निर्माण गरेकाले पनि समस्या निम्तिएको उहाँको भनाई छ । यादबका अनुसार कार्यालयमा जनशक्तिको कमि र लाभग्राहीहरुले सम्झौता गरेपनि समयमै घर निर्माण नगरीदिनाले दोस्रो तथा अन्तीम किस्ता बितरणमा समस्या भएको छ ।
यता जिल्लामा पूर्बधार विकास तर्फ उपल्लो पोखरा भुमिकास्थान पिपलनेटा हुदै गोखुङ्गा जाने ११.४ कि.मि सडक गत आ.व.मा ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ भने, चाक्ला सिद्धारा पाकुरी नयाँवस्ती धानखोला सडकपनि ११.२०० किमि कालोपत्रे (डिबिएसटी) गर्ने कार्य समेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

अन्य समाचारहरु