काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ ।
सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ ।
केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो ।
तर यसले आकाश खुलाउन सकेको छैन ।
मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन ।
हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ ।
भिजिबिलिटी घटेको छ ।
दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन ।
यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ ।
तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरुले जनाएका छन् ।
सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो ।
सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो ।
एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ ।
२०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।
यसभन्दा माथि जानु चाहिँ घातक हुुने उनिहरुको भनाइ छ ।
यसरी उपत्यकाको वायु प्रदुषण घातक स्थितिमा पुगेको पाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्मै रहने बताएको छ ।
काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ । इमेजखबरबाट