अमेरिकाको माथिल्लो सदन सिनेट पनि डेमोक्र्याटहरुको नियन्त्रणमा

अमेरिकाको माथिल्लो सदन सिनेट पनि डेमोक्र्याटहरुको नियन्त्रणमा जाने करिब निश्चित भएको छ ।
जर्जिया राज्यमा सीनेटको दुई सीटका लागि भएको पुननिर्वाचनमा डेमोक्रेट पार्टीले जित्ने करिब निश्चित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई मध्ये एक सीटमा जीत सुनिश्चित भइसकेको छ भने अर्को सीटमा तीब्र प्रतिष्पधा देखिएको छ ।
मत परिणामअनुसार डेमोक्र्याट उम्मेदवार राफायल वार्नकको जीत सुनिश्चित भएको छ । उहाँले रिपब्लिकन सिनेटर केली लेफ्लरलाई पराजित गर्नुभएको हो ।
अर्का डेमोक्रयाट उम्मेदवार जोन असफले झिनो मतका साथ रिपब्लिकन सिनेटर डेविड पर्ड्यूमाथि अग्रता लिनुभएको छ । वार्नक र असफको जीतसँगै एक सय सदस्यीय सीनेटमा दुबै पार्टीको आधा आधा सीट अर्थात् ५०–५० सदस्य पुग्नेछन् ।
तर सीनेटको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था भएकाले मत बराबर भएमा उपराष्ट्रपति कमला ह्यारिसको मत निर्णायक हुने भएकाले सीनेटको सहमति लिन राष्ट्रपति जो बाइडनलाई सजिलो हुनेछ ।
तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा लगातार बहुमतमा रहेको डेमोक्र्याट राष्ट्रपति बाइडनलाई सीनेटको बहुमतले आफ्ना नीति कार्यान्वयनमा सहजता हुनेछ ।
गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि जनवरी ५ फेरि मतदान गरिएको हो ।
नोभेम्बरमा भएको निर्वाचनमा पराजीत भएरपनि हार अस्वीकार गरिरहनुभएका वहालवाला रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पका लागि जर्जिया सीनेटको पुननिर्वाचन परिणाम अर्को धक्का हो ।
निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही जनवरी २० मा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ लिँदै ह्वाइट हाउसको कमाण्ड सम्हाल्नु हुनेछ । एजेन्सी