सन्धिखर्कमा भोली ओली पक्षको भेला हुँदै, मदन भण्डारीको तस्बिर राखेपछि टोपबहादुर पक्षको विरोध, प्रचण्ड–नेपाल समूहले अबरोध गर्ने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोली माघ ३ गते हुने बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रम तयारी पुरा  गरेको छ ।
 बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रममा चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे पक्षले भेलामा राखिने ब्यानरमा पुष्पलाल र मदन भण्डारीको तस्बिर राखेपछि टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का समुहले विरोध गरेको छ ।
टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का समुहले सुर्य चिन्ह, हसिया हथौड़ा मात्र राख्न भनेपनि आचार्य, घिमिरे पक्षले नेपाली वाम आन्दोलनका दुई हस्तीहरु पुष्पलाल र मदन भण्डारी तस्बिर राखेका छन् । यस्तै साविक माओवादीका कार्यकर्ताहरुले समेत  जिल्लामा यस अगाडि हुँदै आएका भेलामा  टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्कासँग असुन्टुष्टी पोख्दै आएका छन् ।  
उता सन्धिखर्कको टुडिखेलमा ओली पक्षको नेकपाले भोली माघ ३ गते हुने बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतको उपस्थिती रहने छ ।
सो पार्टीको जिल्ला कमिटीका केही सदस्यहरुले दाबी गरे अनुसार भोली ३० हजार बढी कार्यकर्ताहरु सन्धिखर्कमा उतार्ने योजना बनाइएको छ ।
प्रचण्ड–नेपाल समूहले अबरोध गर्ने
साथै भोलीको भेलामा प्रचण्ड–नेपाल समूहले गाउँबाट आउने कार्यकर्तालाई रोक्ने तयारी गरेका छन् ।
उनिहरुले सन्धिखर्कमा कुनै भेला नभएको भन्दै प्रचार प्रसार गरेका छन् । भने कसैलाई पनि सन्धिखर्क नजान अनुरोध गरेका छन् ।

मार्क्स र लेनिनको फोटो गायव !
कम्युनिस्ट पार्टी भन्ने वित्तिकै त्यसका आदर्श व्यक्तिहरुमा कार्ल मार्क्स र एंगल्स, लेनिनलगायतलाई लिने गरिएको छ ।
मार्क्स र एंगल्सले लेखेको ‘कम्युनिस्टको घोषणा पत्र’ र लेनिनले गरेको त्यसको प्रयोग र संगठनात्मक स्वरुपलाई अवलम्बन गर्ने पार्टीहरुलाई कम्युनिस्ट पार्टी भन्ने गरिन्छ र उनीहरुले पनि आफ्ना आदर्शको रुपमा ति नेताहरुलाई नै लिने गरेका छन् ।
नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले आयोजना गर्ने कार्यक्रममा मार्क्स, एंगल्स लगायतकाको फोटो राख्ने गरिएको छ ।
नेपालका वामपन्थीहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको तस्वीर कार्यक्रमहरुमा राख्ने गरेका छन् भने तत्कालिन नेकपा एमालेले पूर्व महासचिव मदन भण्डारीलाई जननेताको रुपमा लिँदै उनको तस्वीरलाई महत्वका साथ कार्यक्रमहरुमा प्रस्तुत गर्दै आएको छ ।
तत्कालीन माओवादी केन्द्रले भने मार्क्स, एंगल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दै आएको थियो । दुई पार्टीबीच एकता भएपछिका कार्यक्रमहरुमा पनि मार्क्स, एंगल्स र लेनीनको फोटो राख्ने गरिएको थियो ।
तर, नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी होस् कि अर्घाखाँची बैठकको उद्घाटन स्थलमा राखिएको ठूलो व्यानरमा भने वामपन्थीका आदर्श व्यक्तिको तस्वीर देख्न पाइँदैन ।
यसअघि हरेक जसो कार्यक्रममा राखिने गरिएका ति आदर्श व्यक्तिको तस्वीर हटाइएको विषयमा नेकपाका कयौ नेताले आपत्ति जनाउदै आएका छन् ।
ओली पक्षको बैठकमा राखिएको व्यानरमा नेपाली वाम आन्दोलनका दुई हस्तीहरुको तस्वीरमात्र देख्न सकिन्छ । पुष्पलाल र मदन भण्डारी ।
एकताअघि तत्कालीन नेकपा एमाले ले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा ९एमाओवादी केन्द्र० ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए ।
पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको थियो ।
तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्र्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीरणका लागि पृथक र लोकप्रिय मानिन्छ ।
यद्यपि मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो । तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए ।
जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’ लाई भने नेकपाको विधानले समेटेको छ ।