अर्घाखाँचीमा ओली पक्ष नेकपाको बृहत् कार्यकर्ता भेला सम्पन्न (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज शनिबार ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बृहत् कार्यकर्ता भेला सम्पन्न गरेको हो ।
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गरेका थिए ।
भेलामा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरेर पुष्पकमल दाहाल र माधव नेपालले गद्दारी गरेको आरोप लगाएका छन् । आफैंले बनाएको पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोज्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक अरु केही सोच नभएको दाबी गरे ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर हुन नपाएपछि सडकमा दाहाल-नेपालले रोइलो गरेको बताए । ‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजानेतर्फ उहाँ (दाहाल–नेपाल) को ध्यान पटक्कै छैन,’ उनले भने, ‘ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ बाहेक केही छैन । सडकमा गएर ठूलो भूल गर्नुभयो ।’
सडकमा गएर सिंहदरबारतिर ढुंगा हान्नु दाहाल नेपाल पत्तासाप हुने उनले दाबी गरे । काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुको विकल्प नभएको बताउँदै उनले हिम्मत भए अब वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिए । सत्ताको लोभी भएकै कारण आफूले दाहाललाई छाड्न बाध्य भएको मन्त्री रायामाझीले दाबी गरे ।
कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले देशका लागि दाहाल गद्दारी नेता भएको आरोप लगाए । दाहाल-नेपालले पार्टी विभाजन गरेर सडकमा गएर देशको विकास र कम्युनिष्ट विरोधी कार्य गरेको उनले बताए ।
कार्यक्रममा मनतब्य राख्दै पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओलीले पार्टी र सरकार चलाउन सकेन भनेर आरोप लगाउनेहरुले केपी ओलीले नेतृत्व गरेपछि छोटो समयमै संबिधान सभाबाट संबिधान निर्माण गर्ने आधार तयार भएको कुरालाई भुल्न नहुने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियतताको पक्षमा कामगर्ने व्यक्ति कसरी असक्षम भन्दै प्रश्न समेत गर्नुभएको हो । पोखरेलले पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपालले पार्टी एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टीलाई बिभाजनको अबस्थामा पु¥याएको आरोप पनि लगाउनु भयो ।
कार्यक्रममा  राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र तोजबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।