भारतमा आजदेखि कोरोना विरुद्धको खोप सर्वसाधारणलाई लगाउन शुरु

भारतले कोरोना विरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन शुरु  गर्दैछ ।स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।  भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ । 
खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।
भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ । अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।
खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ । भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ । एजेन्सी