अर्घाखाँचीमा ओली पक्ष र प्रचण्ड-नेपाल समुहको कार्यक्रम र कार्यकर्ता तान्न प्रतिस्पर्धा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा विघटनदेखि विभाजित नेकपाका दुई  समूहबीच कार्यक्रम र कार्यकर्ता आफ्नो पक्षमा तान्न प्रतिस्पर्धा चलेको छ । दुवै समूह समानान्तर बैठक र कार्यक्रम राखेर कार्यकर्ता आफ्नो पक्षमा पार्ने होडमा छन् ।
हिजो शनिबार सदरमुकाम सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ हजार कार्यकर्ता तैनाथ गरी बृहत् कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गरेका थिए । 
उक्त सभालाई सम्बोधन गर्न मन्त्रीहरु जिल्ला आउँदा जिल्ला सदरमुकाम आसपासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समुहका कार्यकताहरुले विभिन्न चोकमा काला ब्यानरहरु सहित प्रर्दशन गरेका थिए । यस्तै भेलामा प्रचण्ड–नेपाल समूहले गाउँबाट आउने कार्यकर्तालाई रोकेका थिए ।  
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले उक्त कदम असंवैधानिक भन्दै आन्दोलनमा उत्रिएका छन् । अर्घाखाँचीमा पनि दाहाल –नेपाल समूहमा रहेका जनवर्गीय संगठन मोर्चाको नाममा जिल्लाभर नियमित भेला, विरोधका कार्यक्रम गरेका छन्  ।
ओली पक्षका नेता तथा कार्यकर्ताले जिल्ला पार्टी कार्यालय आफ्नो कब्जामा राखेका छन् ।  साविक एमालेले निर्माण गरेको कार्यालयमा अर्को समूहलाई प्रवेश नदिने घोषणा गरेका छन् । दुवै समूहले छुट्टाछुट्टै भेला र बैठक समेत गर्दै आएका छन् । ‘पार्टी एकता लगत्तै यति धेरै सक्रियता देखाएको भए संगठन निकै बलियो हुन्थ्यो,’ नेकपा ओली पक्षका एक नेताले अर्घाखाँचीडट्कमलाई  भने, ‘गुटका कार्यक्रम गर्न सक्ने तर एक हुँदा किन हुन सकेन ?’
साविक एमाले र माओवादी केन्द्रको एकतापछि अध्यक्षमा चेत नारायण आचार्य र सचिव ठाकुर कुमार विकको जिम्मेवारी तोकिएको थियो । दुबै पक्षले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण, बैठक गर्दै आएपनि कसैलाई पनि ‘पदमुक्त’ गरेका छैनन् ।  
हिजोको हजारौको उपस्थितीमा सम्पन्न बृहत् कार्यकर्ता भेलासँगै प्रचण्ड-नेपाल समुह स्थिती जिल्लामा धेरै कमजोर भएको अनुमान गर्न सकिन्छ । प्रचण्ड-नेपाल समुहले पनि केही दिनमा सोही प्रकारको बृहत् कार्यकर्ता भेला सन्धिखर्कमा आयोजना गर्ने तयारी गरेको बताइएको छ । भने सो समुहले पनि ओली पक्षले भन्दा बढी हजारौ कार्यकर्ताहरु सन्धिखर्कमा उतार्ने योजना बनाइएको छ । तर ओली पक्षले कुनै कार्यक्रम भेला आयोजना गर्न नदिने गरेमा बिथोल्ने बताएको छ । 
प्रचण्ड-नेपाल समुहका नेता प्रेम नारायण आचार्यले  भने; भेला आगामी माघ १० गते भनेको नेपाल बन्द भन्ने हल्ला छ । लाखौ लगानी गरेर हामी प्रदर्शनको प्रतिस्पर्धामा जादैनौ। उनले भने ।”