अर्घाखाँचीका सबै पालिकामा तीन वर्षभित्र सडक कालोपत्रे गरिने

अर्घाखाँचीडट्कम संवाददाता
       
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै पालिकामा तीन वर्षभित्र सडक कालोपत्रे गरिने भएको छ । 
जिल्लाका सबै पालिका केन्द्रसम्म तीन वर्षभित्र कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि बढाएको हो । 
संघीय सरकारका अनुसार तीन वर्षभित्र जिल्लाका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका,  मालारानी,  पाणिनी गाउँपालिका,  र छत्रदेव गाउँपालिकासम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि बढाएको छ ।
अर्घाखाँचीमा कतिपयमा ग्राभेल, कच्ची र ट्र्याक मात्र खुलेको अवस्थामा छन् । चालू आर्थिक वर्षभित्र नै अध्ययन भइसकेका कालोपत्रे आयोजनाको ठेक्का लगाइसकिने बताइएको छ ।
उता सरकारले स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म बाह्रै महिना यातायात सञ्चालन हुने पक्की (कालोपत्रे) सडक बनाउने कार्यक्रम ल्याएको हो । त्यसका लागि आवश्यक कार्यविधिसमेत मन्त्रिपरिषद्ले पारित गरेको छ । कार्यक्रमलाई कार्यान्वयन र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को १० पुस २०७७ को बैठकले ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ पारित गरेको हो ।
संघीय सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमै यो कार्यक्रम घोषणा गरेको थियो । त्यसअनुसार प्रादेशिक र स्थानीय सडक सुधारसम्बन्धी कार्यविधि २१ मंसिर २०७६ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो भने स्थानीय निकायले ३० दिनभित्र सडकको पहिचान गरी प्रदेशमा पठाउनुपर्ने व्यवस्था गरिएको थियो । यसका लागि २१ पुसदेखि आवेदन माग थालेको छ । २० माघसम्म स्थानीय तहले आवेदन दिने र कार्यान्वयन प्रक्रिया अघि बढाउन खोजे पनि प्रदेश र स्थानीय तहसँग समन्वय नहुँदा कार्यक्रम नै कार्यान्वयनमा आएको थिएन ।