अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नं १ चिदिकाको बाख्रेडाँडाका युवा व्यवसायी निरज अर्यालको निधन भएको छ ।
चिदिकाको बाख्रेडाँडाका समाजसेवी बाबुराम अर्यालका ३० वर्षिय छोरा निरज अर्यालको शनिबार निधन भएको हो ।
निमोनिया पीडित युवा व्यवसायी अर्यालको स्वास्थ्य जटिल भन्दै गएपछि पाटन अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो ।
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको निधन भएको चिदिका काठमाडौ सम्पर्क समाजका सचिब सुभाष ज्ञवालीले अर्घाखाँचीडट्कमलाई बताए ।
युवा व्यवसायी अर्यालको निधन प्रति दुःख व्यक्त गर्दै चिदिका काठमाडौ सम्पर्क समाजले एक कर्मठ र लगनशील व्यवसायीक ब्यक्ति गुमाएको भन्दै शोकको यस घडीमा अर्यालको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । सम्पर्क समाजले अर्याल प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।
स्व. अर्यालले व्यवसाय लगायत सामाजिक काममा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।