अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको लागि ३ हजार ८ सय ५० डोज कोरोना खोप आउने भएको छ ।
अर्घाखाँची जिल्लाको लागि भोली मंगलबारसम्म ३ हजार ८ सय ५० डोज कोरोना खोप आउने भएको हो । लुम्बिनी प्रदेशका अनुसार अर्घाखाँची अस्पतालमा भोली मंगलबार वा बढीमा पर्सी बुधवारसम्म कोरोना खोप आइपुग्ने भएको छ ।
खोप लुम्बिनी प्रदेशको बुटवलको आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ। जहाँ ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । त्यहींबाट जिल्ला अस्पताल अर्घाखाँचीमा खोप पठाइनेछ तयारी गरिएको छ । साथै अर्घाखाँचीमा माघ १५ गते बुधवारबाट खोप लगाउन शुरु गरिने भएको छ ।
उता यस अगाडि आईतबार वा बढीमा सोमबारसम्म अर्घाखाँचीमा कोरोना खोप आइपुग्ने भनिएपनि काठमाडौंबाट लुम्बिनी प्रदेश बुटवल भण्डारण आउन ढिला भएको थियो ।
लुम्बिनी प्रदेशका अनुसार हिजो आईतबार काठमाडौंबाट ३९ हजार ४ सय ९५ जनाको लागि खोप बुटवल आइपुगेको छ ।
साथै जिल्ला अस्पताल अर्घाखाँचीमा खोप लगाउने तयारी पुरा भएको बताइएको छ ।
अर्घाखाँचीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई पहिलो चरणमै खोप जिल्ला अस्पतालबाट लगाइने छ । साथै खोप कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ । खोप लगाइसकेपछि कार्ड दिइने छ ।
जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिने छ । उता खोपका लागि अर्घाखाँचीका स्वास्थ्यकर्मीलाई पनि तालिम दिईएको छ ।
यस्तै अर्घाखाँचीमा खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भईसकेको छ ।
अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ७८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७२ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३४, मालारानीमा ८६, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७५५ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३५८ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १२९, मालारानीमा ८४, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ४९ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।