केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले निर्वाचनको बारेमा सकारात्मक जानकारी दिदै माहोल बनाउन सबैमा आग्रह गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आज सन्धिखर्कमा सरोकारवाला हरु संग गरेको “मतदाता नामावली तथा सैद्दान्तिक कानुनी जानकारी” बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो । प्र. जि. अ. पौडेलले राजनितिक दल र निर्बाचन कार्यालय बिच सद्भाव बढाउन प्रबिधी र सामाजिक संजाल मार्फत पनि सुचना प्रवाह गरि समन्वय र सहकार्य गर्दै अघि बढ्न जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीलाई सुझाब दिनुभएको छ ।
सरकारले २०७८ बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरे पछि निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्य अघि बढाएको हो । यसै अन्तरगत जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले पनि निर्वाचन केन्द्रित कार्य सुरु गरिसकेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन अधिकृत लाल प्रसाद भुसालले राजनितिक दल र सरोकारवाला सबैलाइ चुनाव स्वतन्त्र र भय रहित रुपमा सफल बनाउने तर्फ लाग्न अनुरोध गर्नुभयो ।जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले छ वटा पालिकाहरुमा सहायक नाम दर्ता अधिकृतहरुलाइ तालिम दिएर खटाइको पनि भुसालले कार्यक्रममा जानकारी गराउनुभयो । अधिकृत भुसालले निर्वाचनको लागि मतदाता नामावलि अध्याबधिक कार्यक्रमका बारेमा पनि स्पष्ट पार्नुभएको थियो ।
अर्घाखाँची जिल्लामा करिब १,५२,००० मतदाता रहेको भएता पनि वास्तविक तथ्यांक २०७७ माघ १५ गते बिहान १० बजे प्रकाशन गरिने जानकारी पनि उक्त कार्यक्रममा दिइएको थियो । कर्मचारी मिलन केन्द्रको सभाहलमा गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेलको अध्यक्षता रहेको थियो भने कार्यक्रमको बारेमा जिल्ला निर्वाचन कार्यालयका अधिकृत लाल प्रसाद भुसालले निर्वाचन र गतिबिधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण रबि अर्यालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्लामा सकृय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न कार्यालयका प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।