खनदहमा मालारानी गाउँपालिकाको समिक्षा गोष्ठी सम्पन्न

सुर्य भुसाल
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले विकास निर्माणका काम समयमा सम्पन्न गर्ने गरि अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।  उहाले पालिकावासीले गुनासो सुनाउने ठाउँ नराख्ने गरि काम अगाडी बढाउन निर्देशन दिनुभएको हो । 
पालिकाले आफ्नै सभाहल खनदहमा आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले सेवाग्राहीको काममा जोकोही कर्मचारीले अटेरी गरे कार्बाही समेत गरिने बताउनुभयो । पालिकाका सम्पुर्ण वडाहरुमा छनौट भएका योजनाहरु समयमै सम्पन्न गर्न सके काम पनि गुणस्तरीय हुने र आम नागरिकले स्याबासि दिने बताउनुभयो । 
प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्ती “भनभनेली”ले प्रस्तुत गर्नुभएको पालिकाको चौमासिक कार्य प्रगति विवरण, बजेटिङ्ग, प्रतिवेदनपछि सहभागिबाट उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष आचार्यले कृषि, पशुपालन, पर्यटनमा विकास र प्रविधि हस्तान्तरणसँगै सहकारी मार्फत मालारानीलाई समृद्धि बनाउने लक्ष्य लिए अनुसार काम भईरहेको बताउनुभयो ।
 
कृषि विकास बैंकसँग सहकार्य गरेर दुई लाखदेखि १० लाखसम्म सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने गरि बेरोजगार तथा विदेशबाट फर्किएका व्यक्ति लक्षित कार्यक्रम पनि अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले पालिकाभित्रका सम्पुर्ण नागरिकले सम्पुर्ण क्षेत्रमा विकास भएको महशुस गर्ने गरि काम गर्ने भएकाले सल्लाह सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।
 
प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्ती “भनभनेली”ले आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकमा सम्पन्न भएका र सञ्चालन भईरहेका योजना, बजेट, कार्य प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले कविता मार्फत समिक्षा गोष्ठी कार्यक्रममा सहभागिहरुलाई कृषि, फलफुल तथा पशुपालन क्षेत्रमा लाग्न आग्रह गर्नुभयो । “सुन्तला” शिर्षकमा प्रस्तुत गर्नुभएको कविताले सहभागिहरुको मन छोएको थियो । 
सोही कार्यक्रममा सबैभन्दा बढी राजस्व संकलन गर्ने, चालु आर्थिक वर्षमा चाँडै योजना सम्झौता र काम सम्पन्न गर्ने वडा, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कृषि, फलफुल तथा पशुपालनको क्षेत्रमा उत्कृष्ट व्यवसाय गरेको भन्दै कृषकहरुलाई नगद, सम्मानपत्रले सम्मान समेत गरिएको थियो । यस्तै लुम्बिनि प्रदेशले सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अनुसार ११ जना स्थानीय जातका कुखुरा पालक कृषकहरुलाई अनुदान वितरण गरिएको थियो । यस्तै करीव २६ वर्ष सरकारी क्षेत्रमा सेवा गरि सेवानिवृत्त भएका चुरामणि पोख्रेललाई मायाको चिनो प्रदान गरि दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, वडाध्यक्षहरु, विभिन्न शाखाका शाखा अधिकृत, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षाकर्मी, संघसंस्था, उपभोत्ता समिति, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पालिकाका शाखा अधिकृत रमेश पन्थीको स्वागत मन्तव्य र योजना अधिकृत नेत्र प्रसाद खनाल, प्रशासन अधिकृत पशुपति चुदाँलीको सञ्चालन सम्पन्न भएको हो ।