प्रचण्ड-नेपाल निकट अनेरास्ववियूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यूनियनले प्रतिनिधिसभा विघटनविरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । यूनियनले सरकारको कदम नसच्चिँदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिलसमेत गरेको छ ।
माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेस गर्ने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेलगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र युवा मार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
यस्तै कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुरु गर्नुपर्नेलगायतका माग पनि यूनियनले राखेको छ ।
लिपुलेक, लिम्पयाधुरासहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुरु गर्न दबाबमूलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दबाब दिने, शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नेलगायतका माग राखेर विरोध प्रदर्शन घोषणासमेत गरेको छ । कान्तिपुरमा समाचार छ ।