जायदा खातुन
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सहिद बसिर मियाँको जन्म वि.सं. २००३ माघ १३ गतेका दिन आमा करिमन खातून र बुवा अलिमान मियाँको कोखबाट जेष्ठ सुपुत्रको रुपमा अर्घाखाँची जिल्लाको पाली गाउँमा भएको थियो । उहाँकी एक श्रीमती , एक छोरा र चार छोरी छन् जसमध्ये कान्छी छोरी हाजरा खातुनको मुटु रोगका कारण मृत्यु भइसकेको छ ।
उहाँ २०४६ सालको जन आन्दोलनमा किसान नेताको रुपमा जिल्लामा स्थापित भई किसान संघ का जिल्ला कमिटी सदस्य हुनुभएको थियो । कर्मठ हातका अभावमा पहाडी क्षेत्रका उब्जाउ भूमि र मलिला खेतहरू उजाड हुन नदिई आम किसानको हैसियत उठाउने साझा योजना बनाई काम गर्नुभएको थियो। मुस्लिम गाउँमा जन्मिनु भएका बसिर मियाँले गाउँलेहरुका सुख-दु:खमा साथ दिदै मुस्लिम समुदायको विकास र उन्नतिका लागि जीवन भर संघर्ष गरिरहनु भयो । त्यति बेला विकृतिका रुपमा देखिएको जारी विवाहलाई सामाजिक रुपमा नै बहिस्कार गराई अर्घाखाँचीका मुस्लिम समुदायमा देखिएको बहुविवाहलाई निरुत्साहित गर्नमा नेतृत्वदाइ भुमिका खेल्नु भएको थियो । गरिब परिवारलाई अन्नदान गर्ने , इद, कुर्बानी ,दसैं ,तिहार जस्ता पर्वहरुमा घरमै पुगेर समस्या बुझ्ने र सहयोग गर्ने उहाँको परम्परा जस्तै बनेको थियो । असमानतालाई निरुत्साहित गर्न सबै समुदायको सहभागिता गराउँदै वनभोज गर्ने ,हिन्दु मुस्लिमहरुका चाडपर्वहरुमा सहभागी हुने र निमन्त्रणा गर्ने जस्ता धार्मिक हिसाबले पनि जोड्ने काम उहाँले पाली बासिमा स्थापित गर्नु भएको थियो । अन्याय , असमानता विभेदका विरुद्ध आगोको ज्वाला जस्तो स्वभावका व्यक्तित्व उहाँ निडरतापुर्वक सामाजिक हितका काम गर्नुहुन्थ्यो ।
२0४८साल असाढ २३गतेका दिन तत्कालीन नेपाली काङ्ग्रेसको सरकारका गृहमन्त्री सेर बहादुर देउवाको निर्देशनमा अर्घाखाँचीको पुर्व क्षेत्रमा एमालेको प्रभाव कम गर्नका लागि जाँड रक्सी नियन्त्रणका नाउँमा त्यहाँका निर्दोष नागरिक र पार्टीका अगुवा नेता कार्यकर्ता माथि अत्यन्तै निर्दयी एवम् कायरता पूर्ण हत्या गर्न स.इ. तेजबहादुको नेतृत्वमा प्रहरीको टोलिले दर्जनौं निर्दोष मान्छेमाथि गोलि प्रहार गरेको थियो । सोही क्रममा घाइते भई उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा पुर्याउन नपाउदै आदरणीय कमरेड बसिर मियाँले वि. सं. २०४८ असार २३ गते सहादत प्राप्त गर्नु भयो। २०४८ सालको त्यो बर्बर कालो दिन वास्तवमै हृदय विदारक थियो । लोकतान्त्रिक परिवर्तनका लागि जनआन्दोलन गरेका संघर्षरत योद्धा बसिर मियाँले अन्त्यमा जनता र देशकै लागि जीवन उत्सर्ग गर्नुभयो । शब सन्धिखर्कबाट तत्कालीन सरकारको विरुद्ध नाराबाजी गर्दै पाली ल्याउने काम सम्पन्न भएको थियो । कमरेड प्रदीप ज्ञवालीको नेतृत्वमा अन्त्येष्टी भयो। पार्टीले सहिद घोसणा गर्यो। तत्कालीन पार्टी महासचिव स्वर्गीय जननेता कम्रेड मदन भण्डारीकै नेतृत्वमा हप्तौं सम्म सदन अवरोध भएको थियो। देशव्यापी रुपमा आन्दोलन भयो र सदनको कार्बाही समेत रोकियो । सदनको दबाब परे पछि प्रहरीको गोलि लागि मरणासन्न हुनु भएका सफर मियाँ लगायतलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । र, सरकारले मागलाई सम्बोधन गर्नुको सट्टा हत्यामा संलग्न सइ तेज बहादुरलाई राजाबाट प्रदान गरिने गोर्खा दक्षिण वायु तक्मा पुरस्कारका लागि छ्नोट गर्यो र स.इ बाट तुरुन्तै बढुवा गरि इन्स्पेक्टर बनायो । यसले स्पष्ट रुपमा त्यतिबेलाको सरकारको योजना अन्तर्गत हत्या गरिएको थप पुष्टी गर्दछ । सरकार कति सम्म कायर र निरंकुश थियो भन्ने गतिलो उदाहरणका रुपमा यसलाई लिन सकिन्छ। उहाँको बलिदानबाट सभ्य समाज निर्माण गर्ने एवम् समृद्धिका लागि अगाडि बढ्न सक्ने प्रेरणा प्राप्त गर्न सकिन्छ ।
समय क्रम सङै पार्टी पनि पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पायो र कहिले अल्पमतको सरकार त कहिले बहुमतको सरकारमा पुग्यो र बर्तमान त झण्डै दुई तिहाइको बहुमतको सरकार छ तथापि राष्ट्रिय शहीद घोषणा गर्न सकेन । अहिले नेकपाको बहुमत को सरकार छ तर शहीद बसिर मियाँलाई राष्ट्रिय शहीदको घोषणा गर्ने, परिवारलाई राहत दिने र त्यतिबेलाका घाइतेहरुलाई उचित सम्मान दिने कुनै काम सरकारबाट भएन त्यसकारण जोडदारका साथ सहिद बसिर मियाँलाई राष्ट्रिय शहीद घोषणा गर्न सहिद परिवारले माग गरिरहेको छ । यति गर्न सक्यो भने सरकारले सहिद बसिर मियाँ प्रतिको सच्चा श्रद्धान्जली हुने छ ।