प्रधानमन्त्री ओलीद्वारा मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत सवस्टेशनको उद्घाटन

काठमाडौं, माघ १९ । प्रधानमन्त्री केपी ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको ढल्केवर विद्युत सवस्टेशनको उद्घाटन गर्नुभएको छ ।
ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडित छन् भने कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रशारण गर्न सक्दछ ।
हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो यो स्वचालित सबस्टेशन समेत हो ।
सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण गरिसकिएको छ ।
प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको भन्दै मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको बताउनुभयो ।
सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
कामु कार्यकारी निर्देशक शाक्यले भन्नुभयो, ‘कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ ।’
ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक टोलीबीच सम्पन्न नवौँ बैठकले थप १०० मेगावाट बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय गरेको छ । इमेजखबरमा समाचार छ ।