शोभाखर पन्थी
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँपालिका कमिटीको आयोजनामा वार्ड नं. ६ र ८ हंसपुरमा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी नेकपा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले गणतन्त्रको संस्थागत बिकास , राष्ट्रिय स्वाधीनता र अग्रगमनको निम्ति ताजा जनादेशको बिकल्प नभएको बताउनुभयो । उहाँले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली भुमि समेटिएको नक्शा जारी गरेपछि सरकारका बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउँदै प्रचण्ड माधब समूह बिदेशीको मोतियार भएको आरोप लगाउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले व्यक्तिगत स्वार्थ र पदलोलुपताका कारण प्रचण्ड माधब समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको बताउनुभयो । उहाँले जनताको साथ नपाए पछि प्रचण्ड माधब समुहले चुनावको बिरोध गरेको भन्दै सरकारले तोकेको समयमा चुनाव गर्ने दाबीसमेत गर्नुभयो ।
अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रीले आधिकारीक नेकपा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको बताउँदै सुर्य चुनाव चिन्हमा र्याल नचुहाउन प्रचण्ड माधब समुहलाई चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू सालिकराम आचार्य,नारायण अर्याल ,दिपा पोख्रेल ,रेमबहादुर राना,क्याप्टेन ईन्द्र बहादुर थापा,निमबहादुर सुनार,नरेन्द्र बस्नेत ,लोकनाथ अधिकारी ,गिरिराज भट्टराई ,हुमलाल पाण्डे ,बालकृष्ण अधिकारी ,गिरबहादुर राना लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा नं. ६ मा तोजबहादुर थापाको अध्यक्षता र दुर्गाबहादुर राउतको संचालन तथा वडा नं. ८ मा गंगाबहादुर बि.क.को अध्यक्षता र पद्मा पन्थीको संचालनमा सम्पन्न भएको थियो ।