सन्धिखर्कमा प्रचण्ड–नेपाल पक्षद्धारा मशाल जुलुस | भोली अर्घाखाँची ठप्प पार्ने | ओली पक्षलाई काठमाडौंमा जान रोक्ने योजना
माघ २१ गते, २०७७ मा प्रकाशित
दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले मशाल जुलुस निकालेको छ।
दाहाल–नेपाल समूहले बिहीबारका लागि गरेको देशव्यापी आम हड्तालको पूर्वसन्ध्यामा दाहाल–नेपाल पक्षले मशाल जुलुस निकालेको हो। मशाल जुलुस चुत्राबेशी बजार, फ्लिम हल लाईन हुँदै शान्ती बगैचासम्म पुगेको थियो।
प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहले निरन्तर आन्दोलन गरिरहेको छ। उक्त समूहले भोली आम हड्तालको घोषणा गरेको छ।
साथै भोली अर्घाखाँचीबाट ओली पक्षलाई काठमाडौंमा जान रोक्ने योजना समेत बनाएको दाहाल–नेपाल पक्षका एक नेताले बताए ।
दाहाल–नेपाल समूहले बिहीबार आम हड्तालको आयोजना गरेको थियो। शान्ती बगैचामा बोल्ने वक्ताहरुले आम हड्ताल आफूहरुको रहर नभई बाध्यता भएको बताएका थिए।
उनले सरकारले असंवैधानिक तरिकाले विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको सशक्त प्रतिरोध गर्ने बताए।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।