अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (प्रचण्ड–नेपाल खेमा) ले गरेको आमहड्ताका कारण सम्पूर्ण जनजीवन ठप्प भएको छ ।
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले गरेको आमहड्ताका कारण सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाभरका बजार, विधालय बन्द भएका छन् । यस्तै सन्धिखर्कबाट जिल्लाका गाउँ – गाउँ जाने र जिल्ला बाहिर जाने सम्पूर्ण सवारी साधन चलेका छैनन् ।
जिल्लाका विभिन्न ठाउँमा बन्द गराउन नेकपा (प्रचण्ड–नेपाल खेमा) कार्यकर्ताहरु चोक- चोक, ठाउँ – ठाउँमा भेला भएका छन् ।
जिल्लामा कुनै अप्रिय घटना घट्न नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीले गस्ति समेत गरेका छन् ।
उता हिजो बन्दको पुर्व सन्ध्यामा सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले मशाल जुलुस निकालेको थियो । मशाल जुलुस चुत्राबेशी बजार, फ्लिम हल लाईन हुँदै शान्ती बगैचासम्म पुगेको थियो।
प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहले निरन्तर आन्दोलन गरिरहेको छ। उक्त समूहले आज आम हड्तालको घोषणा गरेको छ।
संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा आमहड्ताल गरेको नेकपा (प्रचण्ड–नेपाल खेमा) ले बताएको छ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।