सन्धिखर्क नगरपालिकामा ब्यापक बेथिति | भागबण्डा नमिलेपछि ‘भ्याकेन्सी’ नै खारेज

मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची  । गाविसको काम–कारबाहीबाट वाक्क बनेका स्थानीयवासीमा ‘नगरपालिकाको बासिन्दा’ बन्न सुरुमा कम्ती लालसा थिएन । नगरवासी भएपछि के के न मिल्छ भन्दै उत्साहित बनेकाहरू यतिबेला नगरपालिकालाई चर्को कर बुझाउन, बेलाबखतमा हुने बेथिति भोग्न र सुन्नमै सीमित रहेका छन् ।

आवेदकहरु नाराबाजी र बिरोध
सदरमुकाम वरपर रहेका साविकका केही गाविसलाई समेटेर ०७१ मा सन्धिखर्क नगरपालिकाको स्थापना भएको थियो । आरम्भदेखि नै कर्मचारी नियुक्तिका विषयमा सचेत तप्काको मन जित्ने गरी काम गर्न नसकेको सन्धिखर्क नगरपालिकाले यसपाली पनि आफ्नो धमिलो छवि जोगाउन नसक्नु दुःखद पक्ष हो । कर्मचारीहरू नियुक्ति गर्दा भरसक विज्ञापन नगर्ने र गरिहालेमा आवेदकहरूलाई परीक्षामा सम्मीलित हुनबाट बञ्चित गर्ने जस्ता नैतिक भ्रष्टाचार त्यसो त यसअघि पनि नभएका होइनन् र जुन कुरा यहाँ कोट्याउनु उचित पनि नहोला ।
नगरपालिका स्थापनाको पहिलो वर्षमा मेयरको सेवासुविधा शीर्षकमा रकम खर्चिएर चर्चामा आएको सन्धिखर्क नगरपालिकाले केही समयअघि कृषि जेटिए र भेटनेरी जेटिएतर्फ गरी दुई वटा पदका लागि विज्ञापन गरेको देख्दा सबैका लागि खुशीको अनुभूति गराएको भए पनि सो खुशी धेरै दिन टिक्न सकेन ।
विज्ञापन गरिएका पदमध्ये ३४ जनाले भेटनेरी र ३६ जनाले कृषितर्फ फर्म भरेका थिए । रु. पाँचसय तिरेर आवेदन दिएका जम्मा ७० जनाको लिखित परीक्षाका लागि गत माघ ६ गते पाणिनी बहुमुखी क्याम्पसमा दिनको ठिक ११ बजे परीक्षा हुने भनिएअनुसार परीक्षार्थीहरू निकै टाढा–टाढादेखि सदरमुकाम आएका र परीक्षा गराउनुको साटो विविध समस्या देखाउँदै सोही दिन परीक्षालाई माघ १४ गतेका लागि सारिएको थियो । नजिक घर भएकाहरू निराश हुँदै फर्किएका भए पनि टाढाबाट आएकाहरू कति आउने र जाने गर्ने भन्दै व्यक्तिगत खर्चमा सदरमुकाममा बसी अध्ययनमा जुटेका थिए ।
आठ दिनको पर्खाइपश्चात माघ १४ गतेका दिन निर्धारित स्थान र समयमा सत्तरी जना परीक्षार्थीले प्रवेशपत्र प्राप्त गरी प्रश्नपत्रको पर्खाइमा प्रतीक्षा गरिरहे । परीक्षा हलभित्र लामो समयको प्रतीक्षापश्चात पुनः दोस्रोपटक परीक्षा स्थगित गरिएको खबरले आफुहरूले छाँगाबाट खसेजस्तो महसुस भएको परीक्षार्थी मनिषा बन्जाडेले बताइन् । परीक्षामा समावेश हुन पाउने आशामा नगरपालिकालाई पाँच सय दस्तुर बुझाइ पटक–पटक आतेजाते तथा होटलमा रकम खर्चिएका परीक्षार्थीहरू परीक्षा दिन पाउनु पर्छ भन्ने मागसहित नगरपालिका कार्यालय पुग्न नभ्याउँदै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइयो ।
नगरपालिकाबाट ठगिएका भोकाप्यासा सत्तरी जना युवायुवतीहरू आफ्नासामु हतियारले सुसज्जित सुरक्षाकर्मी देखेपछि निरास हुन पुगेका थिए भने ‘भ्याकेन्सी नै खारेज गरिएको’ भन्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले क्षमा मागेका थिए ।
यसको भोलिपल्ट सोही नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले यसै विषयसँग केन्द्रित भई सदरमुकाममा पत्रकार सम्मेलन गरेका थिए । करिव दुई दर्जन सञ्चारकर्मीको उपस्थितिमा अध्यक्ष खड्काले मेयर र उपमेयरका एक–एक जनालाई जागिरमा घुसाउने गरी आन्तरिक तयारी गरिएकोमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पनि एकजना आफ्नो मान्छे हुनुपर्छ भन्ने अडान लिएपछि विवाद भएको र यसपछि विज्ञापन गरिएका पद नै खारेजी हुन पुगेको बताएका थिए । आफुले यसको विरोध जनाएपछि प्रमुख प्रशासकीय अधिकृत सापकोटाले शारीरिक लडाइँमा उत्रन आफुलाई चुनौती दिएको वडाअध्यक्ष खड्काको गुनासो रहेको थियो ।
कार्यकारी अधिकृत नगरपालिका प्रमुखको रूपमा रहने प्रावधानअनुसार धेरथोर समय ध्रुव गिरी र निरज पौडेल पश्चात कृष्णप्रसाद सापकोटाले करिव एक वर्ष शुरुमा यो नगरपालिकामा कार्यरत थिए । नगरपालिका स्थापना भएको १० महिनाभित्र आन्तरिक र अनुदानबाट विभिन्न शीर्षकमा ६० लाख ३२ हजार आठसय १३ रुपैयाँ खर्च हुँदै गर्दा ‘अन्य’ भत्ता, ‘अन्य’ भाडा, ‘अन्य’ सेवाशुल्क र विविध नामका शीर्षकमा १२ लाख ५९ हजार नौ सय ७९ रुपैयाँ खर्च भएको थियो । जसमध्ये ७ लाख ५४ हजार सात सय ८२ रुपैयाँ मेयर भत्ता, बैठक भत्ता, कर्मचारी सहुलियत भत्ता तथा प्रसुती स्याहार भत्ता आदिका अलावा ६७ हजार आठ सय ३४ रुपैयाँ कार्यालयको कम्पाउन्डमा फूल रोप्ने कार्यमा खर्च गरिएको थियो ।
यसैगरी कार्यालयमा चिया–नास्ता र अतिथि सत्कारका लागि २ लाख नौ हजार सात सय तीन रुपैयाँ खर्च गरिएको तथ्य लुकाएर लुग्दैन । करिव तीन वर्षअगाडि समपन्न स्थानीय निर्वाचनपश्चात मेयर र उपमेयर आएका भए पनि ०७१ सालमा मेयरका नाममा सेवा–सुविधा लिने को थिए, नगरवासीसमक्ष छर्लङ्ग छँदैछ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसाल नगरप्रमुखमा र तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता ठाकुरकुमार विक उपप्रमुखको हैसियतमा नगरपालिकामा रहँदै गर्दा आफ्नै आँखाअगाडि सत्तरी जना युवायुवतीहरूको भविष्यमा खेलवाड गरिनु पक्कै पनि न्यायोचित हुँदैन । कारणवश परीक्षा स्थगन गर्नुपरेको हो भने पनि परिक्षामा सामेल हुन आएका ७० जना युवायुवतीका बीचमा प्रत्यक्ष वा जुमबाट मेयर–उपमेयरले सहभागिता जनाइदिएका भए नगरपालिकाबाट ठगिएका युवायुवतीका लागि थोरै भए पनि राहत महसुस हुने थियो ।
स्मरणीय छ, परीक्षा हुनुपर्छ भन्दै परीक्षार्थीहरू नगरपालिकाको गेटमा खडा हुँदै गर्दा वैशाखमा हुने भनिएको संसदीय निर्वाचनको तयारीका लागि भन्ने बहाना बनाएर नगरपालिकाका हर्ताकर्ता अधिकारीहरू नगरपालिका कम्पाउन्डमै बैठक बसेका थिए ।

अन्य समाचारहरु