अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दुई दिन देखि परेको हिँउदे वर्षातले कृषकलाई राहत मिलेको छ ।
जिल्लामा शुक्रवार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई राहत मिलेको हो ।
हिँउदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । तर यो वर्ष माघको अन्तिम साता भएपनि पानी पर्दा हिँउदे वाली समेत हुनेभएपछि कृषकहरु हर्षित छन् ।
पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ । हिँउदे वर्षातले अर्घाखाँचीमा चिसो पनि वढेको छ ।
चिसोका कारण वढेसँगै सन्धिखर्क बजार तथा अन्य स्थानमा चहलपहल घटेको छ । चिसोबाट जोगिन घरमै बस्नाले र अत्याबश्यक काम बाहेक अन्य बाहिर हिडडुल नर्गनाले चहलपहल घटेको हो । चिसोबाट केटाकेटी, बिरामी तथा बृद्धबृद्धाहरुलाई अलि बढिनै सताउने गर्दछ ।
वर्षात पछि बाझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतवारीमा तरकारी तथा अन्य वाली लगाउन राहत मिल्नेछ ।
हिँउदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफुल लगायतका वालीहरु पनि सुक्दै जाने थालेका थिए । यसवर्ष वर्खाको समयमा पनि पर्याप्त मात्रामा पानी परेको थियो ।
पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केहि दिन भएपनि राहत हुने स्थानियको भनाई छ ।