अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ओली पक्ष र प्रचण्ड- नेपाल खेमाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले कार्यकर्ताहरुलाई आफ्नो पक्षमा संगठित गर्न गाउँ स्तरिय भेला कार्यक्रम जारी राखेका छन् ।
जिल्लामा ओली पक्ष र प्रचण्ड- नेपाल खेमाको नेकपाले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएका छन् । दुबै समुह नेतादेखि कार्यकर्तालाई आफ्नो पक्षमा तान्न रातदिन लागिपरेका छन् ।
सामाजिक सन्जालमा समेत दुबै समुहका नेतादेखि कार्यकर्ताहरुले एक अर्कालाई आलोचना- गाली गर्न व्यस्त देखिन्छन् । यस्तै नेकपाको ओली पक्षले मदन आश्रित स्मृति भबन पार्टी कार्यालय आफ्नो कब्जामा राखेको छ । भने प्रचण्ड–नेपाल खेमाले जिल्ला स्तरिय भेला होटलमा आयोजना गर्दै आएको छ ।
प्रचण्ड–नेपाल पक्षको भेलामा पछाडि दोस्रोमा नगर प्रमुख रेशम थापा ।
यसैक्रममा भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापा अहिलेसम्म अलमलमा परेका छन् । नेकपा विभाजनपछि केही समय मौन बसेका नगर प्रमुख थापा गत पौष १२ गते आईतबार प्रचण्ड–नेपाल खेमाले सन्धिखर्कमा आयोजना गरेको पहिलो जिल्ला स्तरीय प्रशिक्षण भेलामा पनि उपस्थिती थिए । उक्त भेलामा भुमिकास्थान नगरपालिकाबाट नगर कमिटी सह इन्चार्ज ठाकुर कुमार सौराग आदर्शले पालिका कमिटीबाट रिपोर्ट समेत प्रस्तुत गरेका थिए ।
साथै भेलाको अर्को दिन पौष १३ गते सोमवार प्रचण्ड–नेपाल खेमाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि नगर प्रमुख थापा उपस्थिती भएका थिए । साथै केही दिन उनी प्रचण्ड–नेपाल खेमाले आयोजना गरेका गाउँ स्तरिय भेला कार्यक्रममा सहभागी देखिन्थ्ये ।
तर त्यो समयपछि उनी एकाएक ओली पक्षमा फर्केका छन् । स्रोतका अनुसार उक्त समय टोप बहादुर रायमाझी, चन्द्र बहादुर खड्का लगायतका नेताहरुले थापालाई आफ्नो पक्षमा ल्याउन पटक पटक प्रयास गरेका थिए । कुन सहमतीमा ओली पक्षमा फर्के थाहा हुन सकेको छैन् ।
ओली पक्षको धनचौरमा भेलामा ।
यस्तै पछिल्लो समय नगर प्रमुख थापा भूमिकास्थान नगरपालिकामा ओली पक्षले आयोजना गरेका भेलामा नियमित उपस्थिती जनाएका छन् । तर उनी निकटका व्यक्तिका अनुसार अहिलेसम्म थापा कुन समुहमा जाँदा ठीक हुन्छ भन्नेमा कन्फ्युज छन् । उनी फुटको विपक्षमा छन् ।
२०७४ असारमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा भूमिकास्थान नगरपालिकाको मेयर पदमा कांग्रेस – माओवादी केन्द्र गठबन्धनबाट माओवादी केन्द्रका रेशम थापाले ५३२० मत र उपमेयर पदमा नेपाली कांग्रेसका खडानन्द बेल्वासेले ५२३० मत ल्याई विजयी भएका थिए ।