मालारानी क्षेत्र, नर्तनाचल पर्वत र बुद्ध बाणी

विष्णु घर्ती ‘भनभनेली’
मालारानी क्षेत्र :
महान बन्ने मनका चिन्तायुक्त मामिलाहरूबाट मुक्त हुने मन्दिर मालारानी हो । यसको ऐतिहासिक तथ्यहरू पनि प्रसस्तै पढ्न र सुन्न पाइन्छ । यही सुप्रसिद्द मन्दिरको नामबाट मालारानी गाउँपालिका नामकरण भएको छ । यसै मन्दिरको पश्चिमपट्टी केही पर मनचिन्ते पानी रहेको छ । त्यो पानी अञ्जुलीमा ल्याई मन्दिरमा चढाउँदा मनका इच्छा पुरा हुन्छन् भन्ने प्रचलन धेरै पहिलेदेखि रहिआएको छ । त्यो पानी गुराँसको टोड्कामा अवस्थित छ ।
हिउँद र वर्षा जहिले पनि अटुट रुपमा जत्तिको तत्ति भएर रहेको देखिन्छ । न त्यो टोड्कोमा अडिएको पानी भरिएर बगेको छ न सुकेर गएको पाइन्छ । जति जनाले अञ्जुलीले निकाले पनि सकिदैन । प्राकृतिक, पर्यावरणीय, पर्यटकीय, बैदिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक आदि हरेक पक्ष र दृष्टिकोणले अत्यन्तै पवित्र स्थलका रुपमा यस मालारानी मन्दिरलाई लिइन्छ । सयौ, हजारौ वर्षदेखि सबैको आस्थाको धरोहरका रुपमा यसलाई अंगिकार गरिदै आएको छ ।
मनकारी मान्छेहरूले भरिएका मूख्य नौटा गाउँहरू मिलेर बनेको सुन्दर मालारानी गाउँपालिका हो । मनकारी मान्छेका मनहरू मिलेर नै अवश्य मालारानी बने होला वा भए होला । मनमा दया, माया र करुणा भएकाहरू मालारानी क्षेत्रका मायाका खानी हुन् । आँखाका नानी हुन् । कसैका बेइमानी होइनन् । इमानी र जमानी पनि हुन् ।असल आनीबानी भएका मालारानीका आत्मिक मनहरू हुन् । मालारानीका मानिएका मामलाहरूमा मनकारी मान्छेहरू लागी परेको देखिन्छ, पाइन्छ । मधुरतम स्वरमा मनोहर तरिकाले मदहोस नभइकन सबैका मनमा बास गर्न सफल भइरहेको आभास मिल्दछ ।
मालारानीका मानकता :
वास्तवमै समृद्द मालारानी बनाउँन यहाँका सबै मामलाहरूमा मन, वचन र कर्महरूले नलागी हुँदैन । मन एकातिर र वचन अर्कातिर गर्ने राष्ट्रिय प्रचलनलाई यहाँ त्यति साह्रै प्रश्रय दिनु हुँदैन तर गाँइगुँई रुपमा त्यस्तो हुन थालेको हो कि भन्ने सुनिन्छ । वचनवद्द हुन त्यति सजिलो छैन जति बोल्नमा हुन्छ । कर्म गरेर वचन पुरा गरियो भने मात्र समृद्दिमा पुग्न सकिन्छ ।
नारालाई घन्काएर मात्र हुँदैन । टोल टोलमा कार्यान्वयनमा लैजानु पर्दछ । सबैले मनकारी तरिकाले काम गर्नु पर्दछ । तव मात्रै मनकारी हुनुको महानता प्रमाणित हुन्छ । कुनै पनि महानताको लागि गहनता अनिवार्य हुन्छ । गम्भिर भइकन गहिराईमा नपुगेसम्म महानता प्राप्ति अवश्य हुन सक्तैन ।आग्रह पूर्वाग्रहरहित ढंगले चिन्तन मनन गरी लागियो भने मानवता र महानता सँगसँगै आउँदछ । यसरी मनकारी भएको कुरा सबैले मान्दछन् । कुत्सित मानसिकताबाट प्रेरित कुविचारहरू परपर भाग्दछन् । समृद्दिका मुनाहरू मौलाउँने सुनौलो सुअवसर मिल्दछ ।
यसै तौरतरिकाबाट गरिएका क्रियाकलापहरूले नै महान मालारानीको मानकता प्रस्ततु गर्दछ अनि बल्ल समृद्द मालारानी बन्दछ । यति भएपछि मालारानीका मनकारी मान्छे भन्न जो कोहीले सक्दछ, मिल्दछ । यसो भन्नलाई आत्मगौरव आफै बढेर आउँदछ ।
नर्तनाचल पर्वतमा रावण :
पौराणिक ग्रन्थ अनुसार सवार हुँदै थियो अर्घाखाँचीको नर्तनाचलतिर रावणको । यिनै रावणको बाणको माध्यमबाट निसृत्त भएको पवित्र गङ्गाको नाम हो बाणगङ्गा । रावणले हानेको बाणको तिरबाट भयो शिरारम्भ । फगतमा निसाना लगाइएको थिएन पक्कै त्यो बाण । त्यस बेला पानीको अभाव देखियो त्यो ठाउँमा । छटपटाउन थाले पशु पंक्षी तथा जिव जनावरहरू ।
ओइलाउदै गए बोट विरुवाहरू । मन छोयो उनको यस परिस्थितिले । पानीको प्यास बढ्दै गयो आफुलाई पनि । उनको साथमा थियो तिरवाला तिखो र बलियो बाण । प्रहार गरे पहरामा पानीका लागि । तिरको प्रभावबाट प्रवाह भयो पानी । पानीबाट वचाए सबैले आफ्नो आफ्नो परान । सामरिक रक्षार्थ राखिएको थियो वाण । पानीका लागि थिएन पक्कै । परिस्थितिले माग्यो पानी । रक्षा भयो समग्र वातावरणकै । रावण पनि मनकारी हुँदारहेछन् भन्ने बुझिन्छ यस प्रसङ्गबाट ।
हाम्रो पुरातन सोंच छ कि रावण जन्मिएका हुन् नराम्रो गर्न कै लागि । सोंचमा सकारात्मकता नभएको तथ्य फेला परेको छ उहिलेदेखि नै । अलि सफा देखिदैन हाम्रो मानसिकता । एउटै कथाका पात्र हुन् रावण र राम ।पवित्र गङ्गामा उदाए रावण । चलचित्रका पात्रको भूमिका चलचित्रमा जस्तो छ त्यस्तै हुँदैन व्यवहारमा । कतिपयले भोगेका पनि छौ यो कुरा ।
रावणको बाणबाटै उत्पत्ति भयो बाणगङ्गाको शिर ।बोले विभिन्न ऐतिहासिक कृतिहरूले । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई ।
वाण र बाणीको प्रभाव :
विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरी वाणीले कार्यसम्पादन हुन्थ्यो बाणको । वाणीको ताकतका सामु केही गल्दैनथ्यो बाणको । त्यसैले समाज परिवर्तनका संवाहक बन्दछन् वजनदार वाणीहरू ।
हिजोका वाणीको महत्त्व उजागर हुदै आएको छ वर्तमानको विरासतमा । रुपमा फरकपना होला तर वाणीको बल बलियो नै देखिन्छ सारमा । उहिलेका वाणी र अहिलेका वाणी धर्ती आकाश समान छन् । ऊ बेला बोले पुग्थ्यो भने यो बेलाका बोलीहरू बरालिएका छन् त्यसै त्यसै ।
भनिन्छ फर्कन जान्दैनन् गोली र बोलीले । गोलीको गोल र बोलीको बोल उस्तै उस्तै हो भन्लान् कसैले । न गोलीको बल छ बोलीमा न त बोलीको बल गोलीमा । एउटा गोली बराबर एउटा बोली हुनै नसक्ने कुरा हो कहिल्यै । एउटा गोलीले एउटालाई मात्र मार्न सक्तछ भने एउटा बोलीले धेरैलाई सिध्याउँन मात्रै होइन काफी हुन्छ बचाउँन पनि ।
गोलीको घाऊ निको होला मल्हम पट्टीले । मृत्युपर्यन्त बल्ल मेटिएला तुच्छ बोलीको घाऊ । बाचन गरी वचनवद्द गरेको विषयलाई यथार्थमा पु¥याउनुको सट्टा अन्धविश्वास भन्दै बर्बराउने चलन बढेको छ आफ्नाहरूको वाणीमा । यसो होइन अब, जरुरी भइसकेको छ हाम्रा सोंचमा परिवर्तन ल्याउँन । सोंच हुनु पर्दछ सकारात्मक । अभिवृद्दि गर्नै पर्दछ यस्ता सोंचहरूको । आजको आवश्यकता हो यस किसिमको वातावरण सिर्जना गर्नु ।
नकारात्मक सोंचको निरुत्साहन गर्नु नितान्त आवश्यक छ प्रतिवद्द वचन र वाणीहरूमार्फत । यस सत्कार्यले साकार रुप लिएको खण्डमा पक्कै पनि गोली चलाउने बोली र वचनहरू फिर्दैछन् शान्तिमा । छाउदै छ सर्बत्र कान्ति ।
बुद्ध बाणी :
बाणीहरूको परिधीमा रहेका पोसिला पुस्तक, पारिला पत्रिका तथा ऐतिहासिक कृतिमानी कृतिको कामै हो बासना फैलाउने । यही बासनाले परिवर्तन ल्याउने छ विद्यमान सोंचमा । त्यो सोंच हुने छ अधिकत्तम सकारात्मक । गोलीमा विश्वास गर्नेहरू बोलीमा हुनेछन् बढी आस्थावान ।
मुर्झाउनेछन् अनावश्यक कुरा काट्नेहरू । जुर्मुराउनेछन् सकारात्मक सोंचका कुरा साट्नेहरू । तथ्यमा आधारित मात्रै गरिनेछन् कुराहरू । सत्यका अनुयायी सिद्धार्थ गौतम बुद्धका सारिनेछन् दिव्य उपदेशहरू । अन्य लयको अन्त्य र सही र सत्यतथ्य वचनको लयले पाउनेछ अनन्तता अनि निरन्तरता । यसरी नै बुद्ध बाणीहरूको हुनेछ बृद्धि ।
तव मात्रै छाउनेछ सबैतिर समृद्धि । जहाँ बुद्धुहरू बढेको गरिएको छ आँकलन । त्यहीँबाटै हराउँदै गए भनिन्छ बुद्ध ।बुद्धुलाई बुद्धसम्म पु¥याउने पुलको काममा अग्रसर हुनुछ आज हामीहरू । उच्चकोटीका बोलीले पाउँछन् अमरत्व । बुद्धका बाणीहरूफैलन्छन् दिग्दिगन्त । गोलीको प्रभाव दर्द मात्र हो भने तुच्छता र उच्चता दुवै हो बोलीको प्रभाव ।
त्यसैले गोलीभन्दा धेरै माथी छ भनिएको हो बोलीलाई । प्रेरणादायी पलहरूको पारख गरिरहन्छ जसले र जहिले पनि । पुस्तौ पुस्ता सरिरहन्छन् गुनका वाणीहरू । यस किसिमका शक्तिशाली वाणीलाई बाजीमा लगाइएको पाइन्छ आजकल । गौतम बुद्धको रुपान्तरित स्वरुप हो सकारात्मक सोंचको अभिवृद्धि ।
बुद्ध नै नहौला हामी तर बुद्धझैं नबन्न नसकिने के छ र यहाँ † यही हो सकारात्मक सोंचको सार । जिम्मेवारी राखेमा सबैले खट्किने छैन कतै कुनै अभाव । बढ्नेछ झन् रावणको जस्तै पवित्र सोंचको सकारात्मक प्रभाव । फैलिएरै जानेछ नर्तनाचलको सदावहार सद्भाव ।
लेखक – विष्णु घर्ती ‘भनभनेली’ मालारानी गाउँपालीका अर्घाखाँचीका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ ।
gharti.bg@gmail.com