अर्घाखाँचीमा विप्लव नेकपाले २६ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा मशाल जूलूस निकाल्यो

अर्घाखाँचीडट्कम संवाददाता   
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले २६ औं जनयुद्ध दिवसको अवसरमा मशाल जुलुश निकालेको छ । 
भुमिगत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले २६ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा शुक्रबार साँझ सन्धिखर्क लगायत जिल्लाभर मशाल जूलूस निकालेको हो । 
जिल्लामा विप्लव नेतृत्वको नेकपाले निकालेको मशाल जूलूसमा प्रहरीले कुनै अवरोध, प्रकाउ गरेको छैन् । 
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको २६ वर्ष पुग्दैछ । ‘जनयुद्ध दिवस’ अधिकांश कम्युनिस्ट घटकहरुले मनाउने भएका छन् ।
 
साथै  विप्लव समूहले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो ।
उता नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा झण्डै १८ हजारको ज्यान गएको थियो ।
तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल, टोप बहादुर रायमाझी ओली समूहमा गएका छन् ।
जनयुद्ध दिवस मनाइरहँदा विप्लव सहित चारवटा कम्युनिस्ट घटकहरुले बिहिबार क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा घोषणा गरेका छन् ।
रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएका हुन् ।