अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको लाहापेमा कालासिद्ध मन्दिरको शिलान्यास गरिएको छ ।
नगरपालिकाको तिन लाख आर्थिक सहयोग र स्थानियको जनसहभागीतामा मन्दिर बन्न लागेको छ । लाहापेमा निर्माण हुन लागेको कालासिद्ध मन्दिरको शिलान्यास वार्ड नं. ८ का अध्यक्ष रुकेश आलेले गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रुकेश आलेले परम्परा र संस्कृतिको संरक्षणको लागि मन्दिरको संरक्षण गर्न आवश्यक रहेको बताउनु भएको छ । धार्मिक तथा पर्यटन क्षेत्रको विकास गर्न यस क्षेत्रका धार्मिक महत्वका क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । वडा भित्रका सार्वजनिक मठ, मन्दिर निर्माण गरेर मात्र नपुग्ने भन्दै आलेले निर्माण भएका संरचनाहरुको दिगो संरक्षणमा जुट्न स्थानियवासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष दलजित सुनारले कालासिद्ध मन्दिर यस क्षेत्रकै गहना हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो समय नेपालमा धार्मिक आस्था र चेतनाको विकास हुदै गएकोमा सुनारले खुसी व्यक्त गर्नुभयो ।
दलजित सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजिवीहरूको उपस्थिती रहेको थियो ।