अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अब सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षकलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । यस्तै जिल्लामा ५५ वर्षमाथिका नागरिकलाई पनि खोप लगाईने भएको छ ।
जिल्लामा अब सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ५५ वर्षमाथिका नागरिकलाई आगामी फागुन २३ गतेबाट कोरोना विरुद्धको खोप लगाईने भएको हो ।
सरकारको निर्णयअनुसार क्याम्पस र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिइनेछ। साथै ९ र १० फागुनमा औषधि पसलमा कार्यरत कर्मचारी, प्रयोगशालामा कार्यरत कर्मचारी तथा सफाई कर्मचारीलाई खोप दिईरहेको छ ।
यस्तै जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुले खोप लगाई सकेका छन् ।
उता जिल्लामा पहिले १३७८ जना र दोस्रो पटक १८६० जनाले कोरोना खोप लगाएका छन् । जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अर्घाखाँचीमा आज सोमबारबाट पहिलो चरणको खोप सम्पन्न भएको छ ।
अर्घाखाँचीमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १० जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ३ जना, शितगंगा नगरपालिकामा २, भूमिकास्थानमा १ र मालारानीमा ४ रहेका छन् । साथै छत्रदेव र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।