काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
उनीहरु देउवासँगको छलफलका लागि बुढानिलकण्ठ नै पुगेका हुन्। प्रचण्ड, नेपाल र देउवाबिच २० मिनेट छलफल भएको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा छन् ।
सभापति देउवाले कांग्रेसको पदाधिकारी बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यकाबाहिर छन्। उनी आज साँझ काठमाडौं आइपुग्ने पौडेलको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड-नेपालले पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान प्रचण्ड र नेपालले पौडेलसँग कुराकानी गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा थियो।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ। सेतोपाटी र देशसन्चारमा समाचार छ ।