बर्डफ्लू रोग देखिएको काठमाडौँको तारकेश्वर क्षेत्रलाई पूर्ण निःसंक्रमण

काठमाडाैँ – बर्डफ्लू रोग देखिएको काठमाडौँको तारकेश्वर क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिसकिएको पशु सेवा विभागले जनाएको छ।
बिहीबार बर्डफ्लू देखिएको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ को रोग प्रभावित क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले विज्ञप्ति जारी गरेर जानकारी दिएकाे हाे।
बर्डफ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको विभागले जानकारी दिएकाे हाे।
यस क्रममा ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोईलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइएको विज्ञप्तिमा उल्लेख छ।
रोगलाई पूर्ण नियन्त्रणमा राख्न फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न विभागले आग्रह गरेको छ।
फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन तथा खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित गर्न पनि विभागले आग्रह गरेको छ।
यस्तै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन हुन तथा कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिन पनि विभागले आग्रह गरेको छ। देशसन्चारमा समाचार छ ।