छत्रगंजमा रातापोखरा खेलमैदानको स्तरोन्नती र प्याराफिट निर्माण हुँदै

लक्ष्मण घिमिरे 
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर-५, छत्रगंजमा रातापोखरा खेलमैदानको स्तरोन्नती र प्याराफिट निर्माणको काम भईरहेको छ ।
 
गत वर्ष ‘छत्रदेव प्रिमियर लिग’ मार्फत क्रिकेट खेल उद्घाटन गरिएको मैदानलाई स्तरिय बनाउन पालिकाले बजेट विनियोजन गरेर काम अँघी बढाएको छ । जिल्लामै क्रिकेटका लागी गतिलो र पर्याप्त मैदान नभएका बेला छत्रदेव गाउँपालिकाले निकट भविष्यमै राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नती गर्नेगरी काम अँगाडी बढाएको पालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । ‘खेल मैदान पहिेले नै बनाईसकेका थियौं, यो मैदानमा केही प्रतियोगिताहरु पनी भईसकेका छन्, उनले भने,‘खेलाडीहरुलाई अझै सहजताका साथ खेल्न मिलोस्, हेर्ने दर्शकलाई पनी आनन्द आओस् त्यस्तो मैदानको कल्पना गरेर अहिले निर्माणाधिन छ ।’ विकास सडक र भवनसंग मात्र दाँज्न नहुने उनको भनाई ।
छत्रदेवमा धेरै राम्रा खेलाडीहरु रहेको उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताईन् । क्षमता हुँदाहुँदै पनी धेरै खेलाडीहरु मैदान र प्राक्टीसको अभावले अँघी बढ्न नसकेको बताईन् । पालिकाले खेलाडी उत्पादन गरेर राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्य राखेको उनको भनाई छ । ‘यहाँबाट सिकेर राष्ट्रका लागि खेल्दै छत्रदेवको नाम उँचो पार्ने खेलाडी छन्, उनले भनिन्,‘उनीहरुलाई त्यो वातावरण तयार पार्न पालिकाले प्रयास गरिरहेको छ ।’ रातापोखराका अलावा पालिकाले अन्य वडाहरुमा समेत खेलमैदान निर्माण गरिरहेको उनको भनाई छ ।
जिल्लामै क्रिकेट मैदानको अभाव छ । सन्धिखर्कको साँघुरो टुँडिखेल मैदानका अलावा जिल्लाभरमा क्रिकेट खेल्न उपयुक्त मैदान छैन । छत्रदेवको खेलमैदान क्रिकेटलाई मध्यनजर गरेर नै बनाईएको छ । अर्घाखाँचीले केही राष्ट्रियस्तरका खेलाडी पाएको छ । सौरभ खनाल र विक्रम भुसाल लगायतले राष्ट्रिय टोलीबाट खेलीसकेका छन् । अन्य पनी क्षमतावान खेलाडी छन् जुन् खेलमैदान, खेल सामाग्रि र सिकाईको अभावले ओझेलमा छन् । जिल्लाका नगर र पालिकामा करोडौं रकम खेल मैदानमा लगानी भएका छन् । तर परिणाम देखिने गरी र सहज तरिकाले खेल खेल्न मिल्नेगरी कुनै पनी मैदान तयार छैनन् । जिल्लाका छ वटा पालिकामा खेलमैदान बनाउन बजेट विनियोजन भएका छन् । खेल मैदान बनाउन डोजर लगाएर जमिन समथर बनाउने बाहेक अन्य प्रगती भने देखिएको छैन ।
क्रिकेटकै नजरले हेर्दा गतिलो मैदान कसैले बनाउन नसकेको जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋिषी भट्टराईले गुनासो गरे । ‘छत्रदेवले क्रिकेटका लागी राम्रो गरेको छ, रातापोखराको मैदान यो क्षेत्रकै उत्कृष्ट मैदान बन्ने देखेको छु, उनले भने,‘अन्य पालिकाले बजेटको सही सदुपयोग गरेको देखिएन ।’ राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीलाई त्यही अनुसारको सुविधा दिनुपर्नेमा एउटा मैदान समेत उपलब्ध गराउन नसक्नु दुखद् रहेको उनले बताए । क्षमतावान खेलाडीहरु भएको तर सबैकुराको अभावले उनीहरु अँगाडी बढ्न नसकेको उनको भनाई छ ।
खेलाडीहरुलाई खेल मैदानको अभाव हुँदा काँझो खेत वा सडक छेउँमै सिक्न बाध्य छन् । सन्धिखर्कको टुँडिखेलमा यस वर्ष तारबार गरेर जोखिम कम गर्ने प्रयास गरिएको छ । तर, साँघुरो ठाउँ र सबै खेल एकै ठाउँमा खेल्ने भएकाले त्यहाँ पर्याप्त स्थान छैन । भुमिकास्थानको खेल मैदान भनिएको ठाउँमा स्वास्थ्यचौकी भवन बन्ने भएको छ । अन्य पालिकाले डोजर लगाएर ठाउँ सम्माउने काम गरेपनी खेलमैदानको न्युनतम मापदण्ड पनी पुग्दैन ।
अर्घाको मसुरपाटामा खेलमैदान बनाउने भन्दै करोडौं रकम खर्च गरेपनी त्यहाँ गाईवस्तु चराउने र भैंसी पौडने थलो बनेको छ । सन्धिखर्ककै बार्दीमा डोजर लगाएर खेत सम्माउने काम भएको छ । यसवर्ष पनी केही रकम बार्दी खेल मैदानका लागी विनियोजन भएको छ । बजार क्षेत्र नजिक भएकाले त्यहाँ टुँडिखेलको विकल्पमा मैदान बन्ने र खेल हुनसक्ने सम्भावना छ । बार्दीमा क्रिकेट खेल्न लायक मैदान बन्नेमा स्थानिय आशावादी छन् ।
छत्रदेव गाउँपालिकाले जस्तै अन्य पालिकामा पनी खेल मैदान बनाउन पहल गर्नुपर्ने देखिन्छ । खेल क्षेत्रपनी विकासको महत्वपुर्ण पाटो भएकाले अन्य विकासका कामसंगै यो क्षेत्रलाई पनी ध्यान दिन जरुरी छ ।

अन्य समाचारहरु