विष्णु घर्ती ‘भनभनेली’
भयानक रुप धारण गर्दै गएको आचरण भ्रष्टाचार हो । प्राय: भ्रष्टाचारलाई आर्थिक हिनामिना गरेको काम कारबाहीसँग जोडेर हेर्ने गरेको पाइन्छ । भ्रष्टाचार आर्थिक अनियमिततासँग मात्र नभई सबै विषयसँग जोडिएको हुन्छ । आर्थिकबाहेकका अन्य भ्रष्टाचारजन्य क्रियाकलापहरु अझ बढी मात्रामा भए, गरेको देखिन्छ । भ्रष्टाचार मौलाउनुको प्रमुख कारण भ्रष्टाचारीले गर्ने भ्रष्ट मनोवृत्ति बोकेर काम गर्ने तथा यसो गर्नेहरुलाई माथिल्लो तहबाट अदृष्य रुपमा ढाकछोप गर्नु भ्रष्टाचारिता हो । उनीहरुलाई निरुत्साहित गर्नुको सट्टा प्रोत्साहित गरिएको छ ।
सदाचारितालाई साथ दिइएको पाइदैन । दण्ड¸ जरिवानालाई कडाईका साथ पालना गरिएको छैन । सदाचारयुक्त काम गर्नेलाई पुरस्कार र प्रोत्साहनको वातावरण छैन । जताततै डर र त्रास मात्र फैलाउनेहरुले भ्रष्टाचार गरेका छन् भनिन्छ । भ्रष्टाचार न्यूनिकरणमा लागीपरेका सबै खाले निकायहरुको काम जरा उखेल्ने नभई केवल पातहरु चिमोट्ने काम मात्र भएको अवस्था छ । मिलेमतोमा धेरै अनैतिक भ्रष्टाचार भएका छन् । तिनको औषधी गर्ने संयन्त्रले कहिंकतै शुरुवात गरेको कमै सुनिन्छ । आजका दिनमा चोरलाई चौतारो र साधुलाई सुली चढाइएको अवस्था देखिन्छ । यस्तो कार्य नहुनु पर्ने हो । यस्तै यस्तै भएकाले भ्रष्टाचारिताले मौलाउने मौका पाएको छ भने सदाचारिता ओइलाउँदै ओइलाउँदै गएको पाइन्छ । यसको निवारणका लागि मनैदेखि खरो रुपमा उत्रन नसक्नु नै हो ।
भुमरीको भ्रमलाई भष्म पार्नका लागि सबैको सहयोग र समन्वको कमी छ । कारबाही गर्नेहरुसँग भएको सबै अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न पाउने अवस्था छैन । एक्लो बृहस्पतिको अर्थ कत्ति पनि नलाग्ने देखिन्छ हरेक रातमा । माथिल्लो निकाय र पदसँगको पहुँचलाई गलत प्रयोग गरी कारबाही नाम मात्रको गराउने बातावरण तिनै भ्रष्टचारीले मिलाउछन् । हात्तीलाई कमिलाले कारबाही गरेजस्तो मात्र हाम्रोमा देखिन्छ । सदाचारितालाई सम्मान छैन¸ गोहीका आँशु झारिन्छ केवल । अप्रत्यक्ष रुपमा भ्रष्टाचारिताको भुमरीलाई भयानक सहयोग छ । कारबाही गर्दा आफू अझ ठूलो कारबाहीमा परिन्छ भन्ने त्रास फैलाइएको छ । सामाजिक बाहिष्कारको बातावरण छैन । त्यसैले उनीहरु पुजनीय बन्न पुगेका छन् । समाजका ठूला ठूला समाजसेवी कहलाएका छन् । यस्तो संस्कार रहदासम्म सदाचारिताले टाउको उठाउन सक्तै सक्दैन ।
संस्थागत भ्रष्टाचारको मात्रा औपचारिक र अनौपचारिक रुपमा बढिरहेकै छ । मिलेमतोमा संस्थाको नाममा काम गर्ने प्रवृत्ति देखिन्छ । व्यक्तिको नाममा संस्था बनाउने र सामाजिक संस्था भनिए तापनि व्यक्तिगत स्वार्थका क्रियाकलापहरु सञ्चालन गर्ने गरिन्छ । सरकारी वा गैरसरकारी दुवैमा संस्थाको हितलाई गौण ठान्ने र अनेकन बहानामा सामाजिक हितको वकालत गर्ने कामले संस्थागत भएको पाइन्छ । खास जनहीतका काम गरिएको पाइदैन । म र मेरो सेरोफेरोकोभन्दा अरुलाई देख्दै नदेख्ने दृष्टिविहिन बनेका छन् । पहुँचका नाममा संस्था नै मै हुँ भन्ने प्रवृत्तिले जरा गाडेसम्म भ्रष्टाचार घट्ने अवस्था देखिदैन । संस्थाको आवरणमा गैरकानुनी कामलाई बोकेर हिड्ने वरिष्ठहरुको हालीमुहाली रहेसम्म र विधि-विधानलाई सर्वोच्च नमान्दासम्म भ्रष्टाचार दिन दुगुना र रात चौगुना भई बढ्ने नै देखिन्छ ।
यसरी भ्रष्टाचारीहरुलाई संरक्षण गरिनु हुँदैन । भ्रष्ट भुमरीलाई भगाउँनु पर्दछ । कुभलोमा लाग्नेलाई भलो गर्नु जरुरी छैन । सदाचारितालाई सम्मान गरिनु पर्दछ । भ्रष्टाचार निवारण सम्बन्धी भएको कानुन र निकायलाई काम गर्न स्वतन्त्र छाड्नु पर्दछ । कुनै पनि प्रकारको हस्तक्षेप कहि पनि गरिनु हुँदैन । चोरलाई सुली नै चढाउँने व्यवस्था हुनु पर्दछ । सामाजिक वहिष्कार गरिनु पर्दछ । भ्रष्टाचारीलाई पुजा गर्ने र उसैलाई ठूलो मान्छे बनाउँने काम भुलेर पनि गर्नु हुँदैन । संस्थागत हित हेरिनु पर्दछ । ठूलो मान्छे हो भनेर माफी दिने गल्ती कदापी गर्नु हुँदैन । हामी सबैले मनैदेखि नै भ्रष्टाचारजन्य कार्यको निराकरणमा सहयोग र सम्बन्धित् संस्था¸ निकाय र व्यक्ति कार्यान्वयनको अभियानमा लाग्नु पर्दछ । तब मात्र सदाचारिताको सत्यले भ्रष्टचारिताको भुमरीलाई भष्मै पार्ने छ । अधिकांशको भ्रष्ट मनलाई भुलाउँने नै छ ।
समाप्त
प्रकाशन मिति २०७७ फागुन १८