पाणिनी गाउँपालिकामा पारदर्शिता र सुशासन कायम, असारे विकास बन्द, काम-योजना सम्पन्न भए उतिबेला नै भुक्तानी

अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आफ्नो खर्च विवरण नियमित रुपमा सार्वजनिक गर्ने कार्यको थालनी गरेको छ ।
गाउँपालिकावाट भुक्तानी भएका विभिन्न कार्यक्रम र योजनाको निकासा भएपश्चात गाउँपालिकाको वेब पेज र वेब साइटमा नियमित रुपमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर सहित भुक्तानी विवरण सार्वजनिक गर्ने कामको थालनी भएको छ । यसमा पूजिगत तर्फको भुक्तानी बिवरण सार्वजनिक हुने गरेको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुखको रुपमा नेत्र प्रसाद घिमिरे आएसंगै पालिकाको आन्तरिक व्यवस्थापन सुधार गर्ने प्रयास भएको छ ।
आर्थिक पारदर्शिता कायम गर्ने र व्ययभार कम गरी सेवाग्राहीलाई सेवाको पहुँच सरल बनाउने भन्दै पालिकाले ५० हजार भन्दा कम लागतका योजनाको भुक्तानीको लागि वैङ्कमा जानु पर्ने वाध्यता हटाई उपभोक्तालाई सिधै भुक्तानी दिने गरेको प्रशासकीय प्रमुख घिमिरेको भनाई रहेको छ ।
उहाँका अनुसार यसवाट उपभोक्ता समितिको प्रशासनिक खर्च कम हुने र तोकिएको योजनाको निम्ति रकम चुहावट हुने सम्भावना कम हुन्छ ।
योजना सम्झौताको लागि वडामा गई भुक्तानी गर्ने कार्यलाई निरन्तरता मात्र नभई सम्झौताको समय सिमा समेत निर्धारण गरी फागुनको पहिलो हप्ता पछि योजना सम्झौता नगर्ने समेत उहाँको दावी रहेको छ ।
पालिकाले यस वर्षदेखि असारे विकास रोकी गुणस्तरीय र पारदर्शी रुपमा योजनाहरु सम्पन्न गर्ने गरी कार्यक्रमहरु सुरुदेखि नै लागुगरेको पालिका अध्यक्ष अच्युत गौतमको भनाइ रहेको छ । “सेवाग्राहीको सहयोगको लागि सहयोग कक्षको व्यस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ ।
भुक्तानी प्रकृया अलि झन्झटिलो र धेरै समय लाग्ने जनगुनासो आएकोले यसलाई छिटो र सहज बनाएका छौं । आवश्यक प्रक्रिया पुरा गरी फाईल पेश भएको एक हप्ता भित्र हामी भुक्तानी दिन्छौं ” । प्रशासकीय अधिकृत घिमिरेको भनाई ।
लामो समयसम्म विवाद र रिक्त रहेका स्वास्थय सेवाका विभिन्न पदमा पदपूर्तिको कार्य समेत सम्पन्न भएको र एम्वुलेन्स सेवा समेत सञ्चालनमा आएको छ ।
यस बीचमा पालिकाले फुसको छानो विस्थापन र एक घर एक धारा अभियानमा उल्लेख्य प्रगति गरेको भनाइ पालिका उपाध्यक्ष लक्ष्मी गौतमको भनाइ रहेको छ ।

अन्य समाचारहरु