‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप नेपाल आइपुग्यो

काठमाडौं, फागुन २३ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराइएको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाएको खोपको पहिलो खेप ३ लाख ४८ हजार डोज खोप बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी विमानस्थलमै पुग्नुभएको थियो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्नेछ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । इमेज च्यानलमा समाचार छ ।