लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भारतमा काम गर्ने प्रवासी परिवारको आर्थिक सशक्तीकरण परियोजनामा काम गरिरहेको BER परियोजनाको अनुभव र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजनामा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संयोजक युवराज ज्ञवालीले आर्थिक वर्ष २०७७/०७८ को कार्यप्रगती विवरण पेश गरेका थिए । संस्थाले सहकारी मार्फत गाउँमै रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ । यस्तै स्वरोजगार बनाउन ३५ सय लोकल कुखुरा, २ सय ४० मौरीका घार समेत वितरण गरेको संयोजक ज्ञवालीले जानकारी दिए ।
अक्सफाम नेपालको सहयोगमा जनचेतना सरोकार मञ्चले भुमिकास्थान नगरपालिका वडा नम्बर-१, २, ३, ४ शितगंगा नगरपालिका वडा नम्बर-५, ६ त्यस्तै मालारानी गाउँपालिका वडा नम्बर-४, ६ मा आफ्ना गतिविधी गर्दै आएको छ । संस्थाको आर्थिक वर्ष २०७७/०७८ को कुल बजेट दुई करोड २८ लाख ७६ हजार तिनसय १४ रुपैयाँको बजेट रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितीका सभापती तथा कार्यक्रमका प्रमुख अतिथी पिताम्बर शर्मा भुसालले कोरोना महामारीले आत्मनिर्भर बन्न पाठ सिकाएको बताए । वैदेशिक रोजगारीमा मात्र निर्भर हुने बानीले समृद्धी हासिल हुन नसक्ने भन्दै उनले स्वरोजगारको अवधारणा अवलम्बन गर्नुपर्ने बताए । सर्वसाधारणको जनजिविकामा मद्दत पुग्ने, आर्थिक रुपमा सबल बनाउन सघाउने संस्थाप्रती उनले धन्यवाद समेत दिए ।
कार्यक्रममा मन्तव्य राख्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले नगरले सक्दो सहयोग गरिरहेको बताएका छन् । नगरका नागरिकहरुको जनजिविका बदल्न र उनीहरुलाई आर्थिकरुपले सक्षम बनाउन नगरले संस्थाहरुसंग हातेमालो पनी गरिरहेको बताए । रेमिट्यान्स मार्फत आएको पैसा उत्पादनशिल क्षेत्रमा लगाउनु पर्ने उनको भनाई छ ।