अर्घाखाँचीमा ओली पक्षले नेकपा कार्यालयलाई एमालेमा परिणत गर्दै, मदन आश्रित स्मृति भवनमा अब एमालेको बोर्ड

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भवन पार्टी कार्यालयलाई ओली पक्षले अब नेकपा एमाले कार्यालयमा परिणत गर्ने भएको छ । 
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भबन पार्टी कार्यालयलाई ओली पक्षले अब नेकपा एमाले कार्यालयमा परिणत गर्ने भएको हो  ।
ब्युँतिएको एमाले जिल्ला नेताहरुको अनुसार मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राख्न  तयारी भएको छ । पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्ने उद्घाटन १,२ दिनमा हुने बताइएको छ ।
एमाले विधार्थी नेता प्रदिप नेपालीले भाेली पर्सीसम्ममा एमाले कार्यालयमा परिणत हुने अर्घाखाँचीडट्कमलाई बताए ।   
दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पुन: एमालेकै पार्टी कार्यालय बनाइने छ । 
उता माओवादी पक्षको भने अहिलेसम्म कुनै तयारी भएको छैन् । टोप बहादुर रायमाझी सहित चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी लगायतका नेताहरु ओली खेमामा रहेका छन्।
यस्तै जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, जिवनारायण कोईराला, रामबहादुर चौहान, प्रेमनारायण गैरे, भेष बहादुर के.सी,  छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका छन् ।