सुरज घिमिरे
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीमा रहेको श्री प्रभाकर माध्यमिक विद्यालय सिमपानीमा भु.पु. प्र.अ. स्व. पिताम्बर भट्टराई स्मृति गेट उद्घाटन, ४ कोठे भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा सम्पन्न भएको छ । जसको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे गरेका हुन् ।
सो अवसरमा प्रदेश सभा सदस्य घिमिरेले स्वर्गीय पिताम्बर भट्टराईको योगदान र इतिहासलाई जोगाउन पनि शालिक निर्माण गरिएको बताए । योगदानको कदर र इतिहासको संरक्षण गर्नु सरकारको दायित्व भएको उनले बताए ।
भट्टराईले शितगंगाको शिक्षामा महत्वपुर्ण योगदान पु¥याएको घिमिरेले बताए । प्रदेश सभा सदस्य घिमिरेले स्वर्गीय पिताम्बर भट्टराईप्रती श्रद्धा सुमन व्यक्त गर्दै भट्टराईको निधनको सिंगो अर्घाखाँचीमै ठूलो क्षति पुगेको बताए । विभिन्न रोगहरुबाट भट्टराईको २७ बर्षको उमेरमा निधन भएको थियो ।
यस्तै घिमिरेले देशमा दुईतिहाईको सरकार आएसँगै विकासमा फड्को मारेको बताएका छन् । घिमिरेले अर्घाखाँचीको विकास निर्माणको लागि तीनैतहको सरकार लागिपरेको बताए ।
उनले विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन जनताहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको औल्याए । उनले जिल्लाको विकासको लागि आगामी दिनहरुमा पनि लाग्ने बताए । उनले छिट्टै सिमलपानीको मुहार बदल्ने पनि विश्वास व्यक्त गरे ।
घिमिरेले बढ्दो बसाइँसराइ रोक्न सबै लाग्नुपर्ने बताए । उनले गाउँमै कृषि गरि आत्मनिर्भर बन्नुपर्ने बताउँदै कृषि विशेष अनुदान प्याकेज ल्याउने बताए ।