अर्घाखाँचीमा विवेकशील साझा पार्टीको जिल्ला संयाेजकमा पशुपति पाण्डे चयन | कोही नभएकाहरुको लागि राज्य हुनुपर्दछ: रबिन्द्र मिश्र

केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विवेकशील साझा पार्टीको जिल्ला समिति घाेषणा कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रको उपस्थितीमा साझा पार्टी अर्घाखाँचीको संयाेजक पशुपति पाण्डेलाई चयन गर्दै जिल्ला समिति घाेषणा भेला सम्पन्न भएको हो ।
विवेकशील साझा पार्टीको अर्घाखाँची जिल्ला समिती घोषणा पछिको पत्रकार भेटघाट कार्यक्रममा विवेकशील साझा पार्टीका सयोंजक रबिन्द्र मिश्रले कोहि नभएकाहरुको लागि राज्य छ भन्ने प्रत्याभूति दिलाउन सक्नु पर्ने बताएका छन् । तर बर्तमान राजनितिक संस्कारमा त्यस्तो हुन नसकेको भन्दै उनले  देशमा राजनितिक बिकल्प खोज्नुपर्ने बताए ।  उनले देशमा सत्तरी बर्षदेखि राज गरिरहेका पार्टीहरुले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए ।
 
बर्तमान ठुला पार्टीहरुले देश र जनतालाई सधै राजनितिक आन्दोलनमा मात्र धकेलेकोभन्दै उनले अब देशमा बिकास र समृद्धिको आबस्यकता रहेको तर त्यो आबस्यकता यी दलहरु बाट संभब नहुने बताए ।
पत्रकारहरुको प्रश्नको जबाफ दिदै मिश्रले आफ्नो पार्टीले सरकारी तलब खानेहरुको संगठन नबनाउने बताए । राज्य संयन्त्र जताततै राजनितिक हस्तक्षेपबाट ग्रस्त भएको भन्दै उनले पेशा गर्नेहरुलाई पार्टीका  भातृ संगठनको रुपमा प्रयोग गर्दा कार्य संपादन निश्पक्ष हुन नसक्ने बताए ।