दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर–११ डिभर्नाको अमिले घर भएका सुपादेउराली ट्राभल्सका पुर्व संचालक जिवन रसाइली करोड रुपैयाँ ठगी गरेर दिल्लीबाट फरार भएका छन् ।
केही पीडितहरुले दिल्लीमा गरेको भेला भिडियोमा ।
सुपादेउराली ट्राभल्सका पुर्व संचालक जिवन बहादुर रसाइली भारतको दिल्ली लगायतका शहरमा बस्ने अर्घाखाँचीबासी तथा अन्य नेपालीहरुसँग करोड रुपैयाँ बढी पैसा ठगी गरेर फरार भएका हुन् । रसाइली फेब्रुअरी १४ गतेदेखि आफ्नी श्रीमती कमला पोख्रेल, छोरी अमृता सहित फरार भएका छन् ।
लामो समय सुपादेउराली ट्राभल्सको संचालक रहेका रसाइलीले पछिल्लो समय श्रद्दा टुर एण्ड ट्राभल्स खोलेका थिए ।
कमला पोख्रेल ( बाँया) र जिवन रसाइली ( दाँया) । दुबै जनालाई ठगेको आरोप छ । फोटो: फेसबूकबाट
रसाइली फेब्रुअरी १४ गतेदेखि एका-एक फरार भएपछि दिल्लीमा पीडितहरुले भेला गरेर हारगुहार गरेका छन् । एक जना पीडित बिष्णु बिष्टले भनिन्; “१०, १५ वर्ष भयो चिनजान भएको र मेरो गाडी छ या वा भन्दै ठुलो कुरा गर्ने घर जग्गा किन्न भन्दै दुई पटकमा ४/४ लाख गरी ८ लाख रुपैया लगेको अहिलेसम्म रसाइलीले फिर्ता गरेका छैनन् ।”
अर्को पीडित लक्ष्मीले भनिन्; “जिवन बहादुर रसाइलीकी कान्छी श्रीमती गुल्मी जिल्लाको साविक जैसिथोक गाबिस वार्ड नम्बर ४ धुर्कोट माईती घर भएकी कमला पोख्रेलले आफ्ना लाखौं पर्ने सुनका गहना लिएर गएकी अहिलेसम्म फिर्ता नगरेकी बताईन् ।”
यस्तै पीडित पुष्पाले भनिन्; “विश्वासको आधारमा दिएको ४ लाख लगेर फिर्ता नगरेको बताईन् ।” उता सहकर्मी बताउने बाग्लुङका तुलाराम शर्माले भने; “रसाइलीले गाडी बनाउन्छु भन्दै क्रेडिट कार्डबाट पहिला १ लाख ३३ हजार र दोस्रो १ लाख ४२ हजार निकालेर फरार भयो । त्यो बाहेक रसाइलीले ३ लाख ३० हजार अरु पनि लगेको बताए ।”
उता रसाइली दिल्लीबाट फरार भएपछि दर्जनौ पीडितहरु हारगुहार गरेका छन् । रसाइलीले दिल्ली बाहेक अन्य शहरमा गरी १ करोड रुपैयाँ बढी पैसा उठाएको अनुमान गरिएको छ । उनलाई चिन्ने लगभग सबैसँग पैसा सापटी लिएको, गर-गहना समेत लगेको बताइएको छ । रसाइलीले सबै पीडितबाट २ लाखदेखि १२, १५ लाख रुपैयाँसम्म ठुलो रकम उठाएको देखिन्छ ।
साथै पीडितहरुले ठगी गरेको आरोपमा स्थानिय प्रहरीमा एफआईआर दर्ज गराउने तयारी गरेका छन् । यस्तै अर्घाखाँचीका पीडितहरुले जिवन रसाइली विरुद्द जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी गरेमा भारतमा भएपनि प्रकाउ गर्न सकिने प्रहरीले बताएको छ । पछिल्लो समय ट्राभल्स एजेन्सीका नाममा ठगी गर्नेहरु बढेको प्रहरीको भनाई छ ।
जिवन रसाइलीले व्यक्ति बाहेक अन्य धेरै संघ- संस्थालाई पनि ठगी गरेको अनुमान गरिएको छ । रसाइलीले वर्षौ अगाडि अर्घाखाँची डट्कममा ५ वर्ष बढी सुपादेउराली ट्राभल्सको विज्ञापन गरे बापत दिनुपर्ने ४ लाख ६० हजार रुपैयाँ समेत उक्त संस्थाबाट उठाए पनि डट्कमलाई नतिरी ठगी गरेका छन्न ।
यस्तै पीडितहरुले सामुहिक रुपमा जिवन रसाइली र उनका परिवारलाई देखेमा जानकारी गराउनेलाई उपहार अफर समेत गरेका छन् ।