अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनगणना २०७८ को लागि जिल्ला जनगणना कार्यालयको स्थापना भएको छ ।
४ महिना सम्म (चैत देखि असार) रहने कार्यालयको जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले उद्घाटन गर्नु भएको हो ।
कार्यालयको स्थापनासँंगै विधिवत रूपमा जनगणनाको काम सुरुवात भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना २०७८ अर्घाखाँचीमा पनि सञ्चालन हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुन थालेको हो ।
जिल्लामा जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक गरी तिनसय ८४ जना जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागी ७२ जना सुपरिवेक्षक र तिन सय १२ जना गणक परिचालन हुने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।
करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ। फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्। करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो।
नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.सं १९६८ देखि सुरु भएको थियो । नेपालमा प्रत्येक १०-१० मा जनगणना गर्ने गरिन्छ ।