अर्घाखाँचीका सबै स्थानीय तह खरका छानामुक्त पालिका बनाउने अभियानमा

लक्ष्मण घिमिरे
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाका सबै स्थानीय तह खरका छानामुक्त पालिका बनाउने अभियानमा छन्। 
शितगंगा नगरपालिका वार्ड नम्बर  ५ जुकेनामा विपन्न वर्गलाई  जस्ता पाता निशुल्क वितरण
जिल्लाका तीन नगरपालिका र तिन गाउँपालिकाले खरका छानामुक्त बनाउने भन्दै टिन खरिद गरेर वितरण गरिरहेका छन्। दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत संघीय सरकारको सहयोग तथा पालिकाको आफ्नै बजेट विनियोजन गरेर टिन वितरण गरिएको छ। पालिकाले दलित तथा विपन्नका लागी बनाएको मापदण्डमा सबै अटाउन भने सकेका छैनन्।
अर्घाखाँचीका ६ स्थानीय तहले हालसम्म १० करोड रुपैयाँँ भन्दाबढी टिन खरिदका लागी बजेट विनियोजन गरेको तथ्याङ्कमा देखिन्छ। संघीय बजेट र पालिकाको आफ्नै बजेट गरेर जिल्लाका ६ स्थानीय तहले १० करोड १३ लाख ३० हजार रुपैयाँँ भन्दा धेरै टिनका लागि विनियोजन गरेका छन्।  
सन्धिखर्क नगरपालिकाले एक करोड २० लाख, शितगंगा नगरपालिकाले एक करोड ७३ लाख ३० हजार, भुमिकास्थान नगरपालिकाले १ करोड, मालारानी गाउँपालिकाले दुई करोड ८० लाख, पाणिनी गाउँपालिकाले दुई करोड २० लाख र छत्रदेव गाउँपालिकाले १ करोड २० लाख रुपैयाँ गरी १० करोड १३ लाख ३० हजार रुपैयाँँ टिनका लागी विनियोजन गरेका छन्।  
दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास, गरिबी निवारण कार्यक्रम, खरका छाना मुक्त कार्यक्रम जस्ता नारासहित ठूलो रकम टिनका छानामा विनियोजन भएको छ। अर्घाखाँचीका ६ वटै स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई केन्द्रित गरी खरको छाना हटाई टिनको छाना लगाउने कार्यक्रम बजेटमा समावेश गर्दै आएका छन्। यी प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमले जनप्रतिनिधिलाई काम देखाउने र जस लिने बाटो बनेको छ।  
खरको छानोका कारण कष्ट बेहोरिरहेका विपन्न समुदाय यो कार्यक्रमले लाभान्वित भएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। ‘यो कार्यक्रम प्रभावकारी छ, जनतालाई सुविधा भएको छ,’ उनले भने, ‘वर्षायाममा छानो चुहिने समस्या हटेको छ। गर्मीमा आगलागीको घटनामा पनी कमी आएको छ।’ आर्थिक अभावको कारण खरको छानामुनि बस्न बाध्य नगरवासीलाई सुविधा भएको उनको भनाई छ।