ढाकावाङ्गका दुई विद्यालयमा एकैदिन तिनवटा अक्षयकोष स्थापना (फोटो सहित)

गोपाल प्रसाद भट्टराई
ढाकावाङ्ग, अर्घाखाँची चैत्र–०५ । नौं महिना कोखमा राखेर आफ्नो बच्चालाई संसार देखाउन पाउँदा कति खुशी लाग्छ होला त्यो हामीले कुनै नाँप गरेर तोक्न सकिंदैन । 
एउटी आमालाई सन्तानको माया र छोरा–छोरीलाई बा–आमाको मायाँ देख्दा लाग्छ यो संसार हाम्रै लागि बनिदिएको हो, सानो छँदा आफु भोकै बसेरै भएपनि छोराछोरीलाई खुवाएर हुर्काउने आमाको लुकेको एउटै खुशी हुन्छ,छोराछोरी ठुला भएपछि पढेर सबैका भन्दा ज्ञानी हुनेछन् र राम्रो प्रगति गर्नेछन्, आमाको मात्रै कष्टको के कुरा गरौं भएपनि नभएपनि जसोतसो मागेजति नै पैसा जुटाएर छोराछोरीको माग पुरा गराउने,पढाउनको लागि खर्च भोर्ने बाबुकोपनि सपना लुकेकै हुन्छकी छोराछोरीले मस्तै पढुन् र आफ्नै खुट्टामा उभिन सकुन्,छोराछोरीको प्रगतिमा हामीले रमाउँन पाउँ । 
तर परिस्थितिले सधै साथ कहाँ कसलाई पो दिएको छ र ? माथि भनिएजस्तै आशा र सपनाहरु फुलिरहेका थिए भुवानन्द खनाल र उहाँको परिवारमा । नेपालको ब्याप्त बेरोजगारिबाट उन्मुक्ति पाउन नसकेपछि रोजगारिको शिलसिलामा भारतको दिल्ली पुग्नुभएका भुवानन्द र उहाँको श्रीमती काभेरी बिगत ४० बर्षदेखि दिल्लीमै बस्दै आउनुभएको थियो । आफुहरुले विदेशमै दुःख गरेर भएपनि एक छोरा र एक छोरीलाई भारतमै उच्च शिक्षा दिलाई सक्नुभएको थियो । विडम्बना श्रीमती काभेरीलाई अचानक क्यान्सर जस्तो घातक रोगको संक्रमण भयो । उपचारमा परिवारको तर्फबाट हर प्रयत्नहरु भए तर छोरोछोरिले गरेको प्रगति हेर्ने मौका उहाँलाई सधैका लागि बन्द भयो । २०७७ माघ १७ गते उपचारकै क्रममा ५९ बर्षको उमेरमा काभेरिको भारतमै मृत्यु भयो । परिवारमा आएको बज्रपातलाई समाल्दै छोराछोरीको अभिभावकको पहरेदारी गर्नुभएका भुवानन्दले श्रीमती काभेरिको ४५ औं दिनको पूण्य तिथिमा दुइवटा विद्यालयमा अक्षयकोष स्थापना गरि पूण्य गर्नुभएको छ । पढ्ने इच्छा भएपनि आर्थिक बिपन्नताले पिरोलिएका बच्चाहरुको शिक्षा प्राप्तीमा टेवा पुगोस् भन्ने हेतुले जन्मभुमि अर्घाखाँचीमै आएर भगवती आधारभुत विद्यालय ढाकावाङ्गमा ४ लाख र चौर आधारभुत विद्यालय ढाकावाङ्गमा २ लाख गरि ६ लाख रुपैंयाको काभेरि खनाल गरिब तथा जेहेन्दार छात्रबृति नामक दुइ वटा अक्षयकोष स्थापना गर्नुभएको हो ।
 यसैविच ढाकावाङ्ग घर भइ हाल बुटवल बस्ने ढुन्डीराज खनालले पनि आफ्नै बुवा स्वर्गिय फर्सुराम खनालको सम्झनामा भगवती आधारभुत बिद्यालय ढाकावाङ्गमा अक्षयकोषको स्थापना गर्नुभएको छ । आफ्नो जिवनकालमा शिक्षा तथा सामाजिक विकासमा अहोरात्र खटेर योगदान दिनुभएका स्वर्गिय बुवा फर्सुरामको सम्झनामा ५१ हजार १ सय ११ रुपैयाँको गरिव तथा जेहनदार छात्रबृति अक्षयकोषको स्थापना गरिएको हो । भुमिकास्थान–२ का वडा सदस्य ओम प्रसाद खनाल,सामाजिक अगुवा जिवनारायण खनाल,कविराम खनाल,विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणी खनाल,प्र.अ.कमल प्रसाद खनाल,चौर आधारभुत विद्यालयका प्र.अ.चन्द्र के.सी.को बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा अक्षयकोषदाता भुवान्द खनाल र ढुन्डिराज खनालले चेक हस्तान्तरण गर्नुभएको बताइएको छ । 
शिक्षा सबैको लागि र निशुल्क शिक्षा सरकारको नारा भएपनि दिनदुखीको निम्ती विद्यालय तहको शिक्षा समेत पहुँच बाहिरै भएको अवस्थामा उहाँहरुको यस्तो कामले अवस्य टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागि अतिथिहरुले अक्षयकोषदाताद्धोय भुवानन्द र ढुन्डीराज खनाललाई धन्यावाद ब्यक्त गरेका छन् ।