श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ४ हजार ५ सय सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार साउनदेखि फागुन मसन्तासम्म ट्राफिक नियम उल्लंघन गर्ने १ सय ६९ बस, ५ सय १० ट्रक, १ हजार ४ सय ७८ जिप कार, २ हजार १ सय ४ ट्याक्टर, १ सय ८४ मोटरसाइकल र ५५ टेम्पोलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आठ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट २८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय अघाँखाचीका प्रमुख प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिए । यस्तै ४२ जनालाई मा.प.से कारबाही गर्दा ४२ हजार राजश्व रकम समेत संकलन भएको आचार्यले बताए ।
यस अवधिमा जिल्लामा १८ वटा सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन भने, ३० जना घाईते भएको कार्यालयले जनाएको छ । मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको कार्यालयका प्रहरी हवल्दार नारायण पराजुली बताए । उनका अनुसार मोटरसाइकल चालकले लाइसेन्स बिना र मदिरा सेवन गरी मोटरसाईकल चलाउँदा कारबाहीमा पर्ने गरेको बताए ।
यसैबिच जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको छ । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका ४ सय ३५ जना बिद्यार्थीहरु, ३६ सय १२ जना व्यवसायीक चालक र परिचालक, ३६ सय १० पैदल यात्रु तथा अन्य सर्बसाधारण गरी ६ सय ७१ पटकमा ७ हजार ६ सय ५७ जनालाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको पराजुलीले जानकारी दिए ।
पछिल्लो समय जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका अलवा जिल्लाका बिभिन्न सडकहरुमा ट्राफिक सचेतनामुलक सम्बन्धी होर्डिङ् बोर्ड राख्ने कार्यलाई तिब्रता दिएसंगै आगामी दिनमा दुर्घटना न्यूनिकरण हुनेमा आम नागरीकले अपेक्षा गरेका छन ।