हलिम खान
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अर्घाखाँचीले खरिदार र सुब्बा लक्षित लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
पाणिनि गाउँपालिकाले स्थानि शिक्षित युवाहरु निजामती सेवामा आकर्षित भएता पनि सेवा प्रवेशको लागि के कस्तो तयारी गर्नु पर्छ र कसरी तयारी गर्यो भने सहजता हुन्छ भन्ने आधारभूत जानकारी प्राप्त नगर्दा समस्या भएको भन्दै सहजिकरणको प्रयास स्वरुप लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो ।
गाउँपालिका भित्रका युवाहरुमा लोकसेवाको परिक्षा दिई निजामती सेवामा प्रवेश गर्न चाहाने धेरै भएको र पालिकाले सामान्य रुपमा भएपनि उहाँहरुलाई प्रोत्साहन गर्न सकेमा पछिका दिनमा राष्टसेवक कर्मचारीको रुपमा युवाहरुले प्रवेश पाउदा उहाँहरुको प्रगती मात्र होईन समग्र पालिकाको नै प्रगती हुने भन्दै कक्षा सञ्चालनको योजना ल्याएको गाउपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेका अनुसार गाउँपालिकाले निजामती सेवामा युवाहरु आकर्षित गरी सेवा प्रवेशको लागि आवश्यक पर्ने न्यनूतम तयारी कसरी गर्ने भनी ज्ञान प्रदान गर्ने हेतुले लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको वताउनु भयो ।पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाई यस्तो रहेको छ “ हामीले विकास भन्नाले भौतिक विकासलाई मात्र वुझने चलन छ । मानविय जनशक्ती विकासमा हामीले कम चासो दिने गर्दछौ र अधिकांश स्थानिय वासिन्दाको पनि भौतिक पूर्वाधारको विकासको निम्ति मात्र माग आउने गर्दछ । तर हामीले मानविय विकासको पक्षलाई समेत संगै विकास गर्न सक्यौ भने राम्रो हुन्छ त्यसैले हामीले यो कक्षा सञ्चालन गरेका हौ । यसको सफलता र प्रभावकारिताका आधारमा अगामी दिनमा अन्य यस्तै प्रकृतीका अन्य कार्यक्रम सञ्चालन गर्छौ । यो एउटा अवसर पनि हो लोकसेवाको तयारीकै लागि भनेर गाउँवाट बजार तिर गई चर्को शुल्क तिरि कक्षा लिन नसकने गाउँमै रहेका इच्छुक र क्षमतावान युवाहरुको लागि यसले ठुलो सहयोग पुर्याउने आशा लिएका छौ”।
गाउँपालिकामा कार्यरत सामाजिक विकास शाखाका प्रमुख कमलकान्त खनालका अनुसार विहानको समयमा सञ्चलित कक्षामा ४० जना सहाभागी रहेका छन् । उहाँका अनुसार कक्षा प्रवेशको लागि १ सय २० जनाले निवेदन दिएता पनि समय व्यवस्थापनको जटिलताको कारणले कक्षामा सहभागिता कम हुन गएको छ । पहिलो चरणमा खरिदार र सुब्बा तहका लागि आवश्यक सामान्य ज्ञान र वौद्धिक प्रश्नहरुको १ महिने तयारी कक्षा सञ्चालन हुनेछ ।