सिर्जनशील क्लबका कुरा किन, कहाँ र कसरी ?

–यशु श्रेष्ठ
नयाँ-नयाँ सिर्जनाले नै संसारलाई सकारात्मक र नवीन अनि सजिलो ढङ्गबाट अघि बढ्न सहयोग गरिरहेको हुन्छ । नवीन सिर्जनाका लागि झुकाव, चाख, लगाव, साधना र निरन्तरता आवश्यक पर्छ । यसका साथै विभिन्न छलफल, संवाद, तर्क, अध्ययन, अनुसन्धानले यो माझिँदै जान्छ र एउटा गन्तव्यमा पुग्न सक्दछ । 
त्यो गन्तव्यमा पु¥याउने एउटा बाटो हुन सक्दछ ‘सिर्जनशील क्लब’ । क्लब भएपछि यहाँ विभिन्न मस्तिष्क र विचारले बास गर्छन् । विचारका आदानप्रदान अनि सहयोगले हौसला, उत्साह प्रदान गर्छ, जसले काम गर्ने हातहरुलाई निकै धेरै फुर्ती ल्याइदिन्छ । एकअर्कामा गरिने मदत र दिने हौसलाले सबैलाई अगाडि बढ्न प्ररित गर्छ । सामुहिकताको विकास हुन्छ । 
नेतृत्व, तर्क गर्ने शक्तिको विकास, अधिकार र जिम्मेवारीप्रति वफदार हुन सिकाउँदछ । एकअर्काका दुःखसुख, संस्कार अनि संस्कृतिकोसमेत आदानप्रदान हुन्छ । एउटा फरक अभिभावकत्व प्राप्त हुन्छ । सामुहिक बलले नयाँ विचार निर्माण हुन्छ । कार्य सफलतामा बल मिल्दछ । नयाँ परिणाम प्राप्त गर्न सकिन्छ । त्यसैले असल प्रेरणा र नयाँ सिर्जनाका स्रोत हुन सक्छन् यस्ता क्लबहरू ।
बालक्लब भनेर यस्ता धेरै क्बलहरु संचालनमा छन् भन्ने सवालहरू उठ्नु स्वभाविक हो । उठ्छ पनि । सिर्जना भन्ने कुरा यस्तो रहेछ कि त्यसले मानिसलाई मानिस बनाउन, जाँगर र जोशले आफूलाई मात्र होइन पूरा समाजलाई उत्साहित बनाउन मदत गर्दो रहेछ । आफ्नो सिर्जना देखाउन पाउँदा त्यो देखाउने र देख्ने दुवैलाई गौरव अनुभूति र त्यसले नयाँ गोरेटो, नयाँ बाटो, नयाँ हौसला थप्दो रहेछ । यो पृथ्वीको सिर्जना नभएको भए ? मानिसको सिर्जना नभएको भए ? रुखविरुवाको सिर्जना नभएको भए ? यसलाई हामीले कल्पना गर्न गाह्रो हुन्छ । त्यसैले धेरै कुरा सिर्जनामा अडेको रहेछ । संसार नै सिर्जनाको उपज हो । यसकारण सिर्जनालाई जोडेर, सिर्जनशील बन्न सक्यो भने अन्य कुराहरू आफैँ डोरिँर्द आउने रहेछन्, मानवमा मानवीयता आउँदो रहेछख भनेर यस खाले क्बलहरू गठन र संचानलमा जोड दिइएको मात्र हो । 
यो एउटा ‘सिर्जनशील’ बालक्लब नै हो । सुन्दै वा गर्दै आएको बालक्लबकै आधारमा अडेको छ यो क्लब तर एउटा व्यवस्थित सोच, गोरेटो होस्, असल बिजको अभावमा छरलिनु नपरोस्, एउटा लक्ष्य प्राप्तिका लागि हौसिन सकौँ, उड्न सकौँ भन्ने हेतुले यसलाई अगाडि बढाइएको हो । सिर्जनाभित्र ठुलो संसार अटेको हुन्छ । ठुलो परिवर्तनको बाहक हो सिर्जना । त्यसैले लक्ष्यलाई प्रष्ट बनाउँदै, सिकाइ र योगदानको क्षितिजलाई फराकिलो पारेर दीर्घकालसम्म अघि बढ्न सजिलो होस् भन्ने हेतुले यो क्लबको अवधारणा ल्याइएको हो । 
समय व्यवस्थापन –  विद्यालयमा यस्ता क्लब छन् भने विद्यार्थीहरुका लागि एक हप्तामा दुई दिन एक/एक घण्टा यिनै कार्यका लागि समय दिन सकिन्छ । विद्यार्थीले अध्ययन गर्नुपर्ने कुराहरु पनि यहाँ सामुहिक छलफल गर्न सकिने छ । विद्यार्थीहरुका मूल्याङ्कन गर्दा यस क्रियाकलापलाई समेत आधार बनाउन सकिन्छ । अतिरिक्त पुस्तक पढ्ने वा छलफल गर्ने समय भनेर अलिकति समय दिन सकिन्छ । बालबालिकाले विद्यालयसँग यो समय माग्न वा यो माग राख्न सक्ने छन् ।
पुस्तकालय वा गाउँघरमा यस्ता क्लब छन् भने विद्यालयको छुट्टीका दिन वा विद्यालयबाट बेलुकी घर आइसकेपछिको केही समय दिन सकिन्छ ।
अभिभावकहरुसँग पनि यस्तै बिदाका समय, बेलुकीको समय माग्न सकिन्छ । घरमा नै सल्लाह चाहिएको छ भने खाना खाने बेला अगाडि वा पछाडि, टेलिभिजन–मोबाइल हेर्ने समयलाई व्यवस्थापन गर्न सकिने छ ।
आर्थिक स्रोत – क्लब संचालनमा केही आर्थिक आवश्यकता पनि पर्न सक्दछ । यसका लागि हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा रु १० क्लबका लागि सहयोग गर्ने (बरु चकलेट वा अन्य चिज नबाँड्ने), जन्मदिनमा पुस्तक उपहार वा कुनै सिर्जना वा प्रकाशित रचना उपहार दिने । हरेक शिक्षक/अभिभावकको जन्मदिनमा शिक्षक/अभिभावले रु १००।– क्बललाई सहयोग गर्ने । सिर्जनशील क्बलबाट सिर्जना भएका रचनाहरु पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने । प्रकाशन भएका रचनाको पारिश्रमिमा ७५% रचनाकारलाई प्रदान गर्ने र २५% क्लबलाई सहयोग गर्ने । सार्वजनिक कार्यक्रमहरू गर्दा हरेक दर्शकले रु १ तिर्नु पर्ने । तिर्नै नसक्नेलाई पास दिने वा यस्तै केही व्यवस्था गर्ने । प्लाष्टिक, सिसा, कागज आदिलाई जम्मा गरेर कवाडी सामान किन्न आउनेलाई बेच्ने । चन्दा बाकस राख्ने वा अन्य सहयोगीहरुसँग सहयोग माग्ने । देउसीभैलो कार्यक्रम, तीज आदिका लागि कार्यक्रम गर्ने । उठेको रकमको केही प्रतिशत क्लबमा राख्ने । स्थानीय निकायहरुसँगको यस्ता कार्यका लागि छुट्टै बजेट हुन्छन्, यसको सदुपयोग गर्ने ।  क्लबको आम्दानीलाई सहकारी (वित्तिय संस्था)मा राख्ने । क्लबका सदस्यहरु वित्तिय संस्थाका कारोबारका बारेमा पनि जानकार बन्ने ।
यसरी एउटा पूर्ण सिर्जनशील क्लब गठन गरेर बालबालिकामा नयाँ जोश, उत्साह र सिप थप्न सकिन्छ । बालबालिकालाई व्यवहारिक र मितव्ययी बनाउन र सामुहिक कार्यका लागि अगाडि बढाउँदै देश निर्माण गर्ने खम्बाहरु तयार गर्न सकिन्छ । यस्ता बालबालिकाबाट नै सकरात्मक परिवर्तनको आशा गर्न  सकिन्छ ।