अर्घाखाँचीका स्थानिय तहले शिक्षक दरबन्दी मिलान नगर्दा जिल्लाभरका शिक्षक समस्यामा

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका स्थानिय निकायले सामुदायिक विद्यालयमा लामो समय हुँदा पनि शिक्षक दरबन्दी मिलान नगर्दा जिल्लाभरका   शिक्षक समस्यामा परेका छन् ।   
 स्थानिय निकायले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयमा शिक्षक–विद्यार्थीको अनुपात मिलाउन लामो समय हुँदा पनि शिक्षक दरबन्दी मिलान नगरेका कारण जिल्लाभरका   शिक्षक समस्यामा परेका हुन् । 
जिल्लाको शितगंगा नगरपालिका बाहेक अन्य पालिकाले शिक्षक दरबन्दी मिलान कार्य गरेका छैनन् । अहिले अर्घाखाँची जिल्लाका धेरै बिधालयहरुले दरबन्दी मिलान नभएको कारण आफ्नो बिधालयमा रिक्त रहेको कोटामा शिक्षक नियुक्ति तथा सरुवा गर्न पाएका छैनन् । अहिलेसम्म अर्घाखाँचीका ११ प्राथमिक तहको दरबन्दी मिलान गरिएको छ ।
नेपाल सरकारले दुई बर्ष अगाडि पुर्ब सचिब महाश्रम शर्माको संयोजकत्वमा दरबन्दी मिलान तथा अध्यन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदन अनुसार निर्माण गरिएको शिक्षक दरबन्दी मिलान तथा ब्यबस्थापन कार्यबिधी २०७६ लाई शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट मिति २०७६/१०/१२ गते स्वीकृत भए पश्चात् शिक्षा तथा मानव स्रोत बिकास केन्द्र मार्फत दरबन्दी मिलान कार्यबिधी २०७६ को अधिनमा रहि दरबन्दी मिलानका लागि हरेक शिक्षा बिकास तथा समन्वय इकाई तथा स्थानीय तहलाई  दरबन्दी मिलान गर्न भनी पटकपटक पत्राचार गरेको पनि एक बर्ष भन्दा बढी भैसक्यो । तर अर्घाखाँची जिल्लाको हकमा सितगङा नगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहले दरबन्दी मिलान प्रक्रिया अगाडि बढाएको देखिदैन ।
दरबन्दी मिलान कार्यबिधी अनुसार दरबन्दी मिलान गर्दा बिद्यार्थी संख्या कम भएका बिधालयमा रहेका अतिरिक्त शिक्षक दरबन्दी विद्यार्थी चाप बढी भएका तर शिक्षक दरबन्दी कम भएका बिधालयमा स्थानान्तरण हुने हुँदा यसबाट शैक्षिक क्षेत्रमा निष्क्रिय रहेको जनशक्ति सकृय हुने साथै विद्यार्थी तथा बिधालयको शैक्षिक स्थितिमा समेत सुधार हुने देखिन्छ । श्री अर्घा रजस्थल मावीका शिक्षक निरज भट्टराईले भन्नुभयो; “दरबन्दी मिलान बर्तमान समयमा विद्यार्थी तथा बिधालयको शैक्षिक सुधारका लागि अनिवार्य आवस्यकता पनि हो । तर अर्घाखाँचीका स्थानीय सरकार यस बिसयमा मौन देखिन्छन् ।”
देशमा संघीयता कार्वान्यनसंगै शिक्षा सम्बन्धि धेरै अधिकारहरु स्थानीय सरकारको अधिनमा पुगेका छन् । कैयौं स्थानीय सरकारले गरेको निरन्तर प्रयासबाट शिक्षा क्षेत्रमा धेरै सुधार पनि भएका छन् । अहिले अर्घाखाँची जिल्लाका धेरै बिधालयहरुले दरबन्दी मिलान नभएको कारण आफ्नो बिधालयमा रिक्त रहेको कोटामा शिक्षक नियुक्ति तथा सरुवा गर्न पाएका छैनन् । धेरै बिधालयहरु शिक्षक बिहिन हुने अवस्थामा  पुगिसकेका छ्न । लामो समय सम्म कोभीड-१९ को प्रभावका कारण शिक्षा हासिल गर्न नपाएका कलिला  बालबालिकाहरु अहिले शिक्षक अभावको मारमा परिरहेका छन् ।  अर्घाखाँची जिल्लाको हकमा खुद पुल दरबन्दी पनि खासै नभएको हुदा मिलान कार्य त्यति जटिल पनि छैन् ।  तर यस्तो संबेदनसिल बिसयमा पनि स्थानीय तह किन उदासीन छ? पेसागत संघ संगठनको ध्यान किन पुगेको छैन ? किन जनप्रतिनिधि गम्भीर बन्न सकिरहेका छैनन् ? यहाँ यस्ता अनेक प्रश्न सृजना भैरहेका छन्, भन्ने जिल्लाभरका शिक्षकहरुको गुनासो छ । 
शिक्षकहरु भन्छन्; पहुँच र शक्तिको भरमा सुगम  बिधालयमा थुप्रिएको जनशक्तिलाई असर पर्न सक्दछ यो गौण कुरा हो प्रमुख कुरा त शैक्षिक सुधार हो । त्यसैले छिटोभन्दा छिटो दरबन्दी मिलान कार्य सम्पन्न गरि दरबन्दी रिक्त भएका बिधालयमा शिक्षक पदपूर्तिको बाटो खुल्ला गरिदिने कार्यमा सम्बन्धित सरोकारवालाको ध्यान पुगोस।