केशब राज ज्ञवाली / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म र फागुन २३ गतेदेखि चैत ३ गतेसम्म जिल्लाभरका ६ पालिकामा १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई जानकारी दिए ।
जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरु, सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिईसकेको छ ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिनको लागि जिल्लाभर तयारी गरिएको छ । दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने बारेमा पछि जानकारी गराइनेछ ।
अर्घाखाँची जिल्ला कोरोना मुक्त
अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव र पाणिनी कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८, भूमिकास्थान नगरपालिकामा १३५, मालारानीमा ९०, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट ७८८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७४ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२, मालारानीमा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।