ढिकुरामा बाख्रा वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं- ९ ढिकुरामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । 
मुख्यमन्त्री ग्रामीण विकास तथा राेजगार कार्यक्रम अन्तर्गतकाे परियाेजनाबाट नगरपालिकाले ६९ घरधुरीलाई २ ओटाका दरले बाख्रा वितरण गरेकाे हाे । 
यस्तै नगरपालिकाले वडा नं.१,५,७,९,१० मा बाख्रा वितरणकाे कार्यक्रम सञ्चालन गरेकाे छ ।
भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले जेष्ठ सदस्य फुर्सी नेपालीलाई बाख्रा हस्तान्तरण गरेर कार्यक्रमकाे उदघाटन गर्नुभयाे । ६९ घर परिवारलाई २ ओटाका दरले बाख्रा वितरण गरिएकाे छ । पाँच राेपनी भन्दा कम जग्गा भएका विपन्न परिवारलाई बाख्रा वितरण गरिएकाे हाे ।
भुमिकास्थान नगरपालिकामा परियाेजना अन्तर्गत ७० लाख बजेट छ । जसमा बाख्रा वितरणका लागि ३९ लाख, वडा नं.२,३,४,६,८ मा टनेल निर्माणका लागि २४ लाख ५० र बाँकी मसलन्द र मास्क वितरणका लागि बजेट विनियाेजन गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख थापाले मुख्यमन्त्री ग्रामिण विकास तथा राेजगार कार्यक्रमलाई आफ्नाे पालिकामा प्रभावकारी ढंगले अघि बढाएकाे बताउनुभयाे । उहाँले याे कार्यक्रमले विपन्न वर्गकाे आयस्तर बढ्ने भन्दै व्यवसायीक रूपमा कृषि कर्ममा लागि आत्मनिर्भर हुन आग्रह समेत गर्नुभयाे ।
कार्यक्रममा वडा अध्यक्ष नारायण खनाल, सिफारिस समितिका सदस्य राजेन्द्र आचार्यले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम प्राविधिक सुशिल घिमिरेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।