एजेन्सी
पाकिस्तानी । कोरोना पोजेटिभ भएका पाकिस्तानी प्रधानमन्त्री इमारान खानले बैठकमा सहभागी हुनुभएको छ । बिहीबार बिहान मिडिया टोलीसँगको बैठकको अध्यक्षता गर्नुभएको पाकिस्तानी समाचार संस्था डनन्यूजले समाचार लेखेका छन् ।
कोरोना संक्रमणको क्रममा पनि बैठक बोलाएर अध्यक्षता गरेपछि प्रधानमन्त्री खानको चर्को आलोचना भएको छ । देशको संक्रमणको तेस्रो लहर चलिरहेको बेला खानले सबै मापदण्डहरुको उल्लंघन गरेको आरोप लगाउँदै उनीहरुले बैठकमा संलग्न सबैजनाविरुद्ध प्रहरीमा एफआइआर दर्ता हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री खानलाई मार्च २० तारिखमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसको दुई दिन अघि मात्र उहाँले चीनको सिनोभ्याक्स खोप लगाउनुभएको थियो । सांसद् शिबली फराजले प्रधानमन्त्रीले बैठक बोलाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उहाँको आलोचना हुन सुरु भएको हो ।
सार्वजनिक तस्वीरमा खान खैरो ट्र्याकसुटमा देखिनुभएको छ । उहाँ मिडियाकर्मी भन्दा केही पर हुनुहुन्छ । खानको यो कदमको विपक्षीले मात्र नभएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले अहिलेको लागि प्रत्यक्ष भेटेर बैठक बस्नु आवश्यक थियो भनेर प्रश्न गरेका छन् ।
पाकिस्तानी सरकारले बनाएको मापदण्डमा कोरोना संक्रमण भएका व्यक्तिलाई ९ देखि १४ दिनसम्म अलग्गै राख्नुपर्ने व्यवस्था छ । यद्यपि प्रधानमन्त्री खानले आफूलाई पोजेटिभ देखिएको ४ दिनमै बैठक राख्नुभयो ।
बैठकको बारेमा सरकारका मन्त्रीहरूले प्रधानमन्त्रीले उचित दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र बैठक गरेको बताए । यद्यपि उनीहरूले क्वारेन्टिमा बसेको बेलामा यस्ता बैठकहरु नगरेको भए राम्रो हुने धारणा राखे ।