प्रधानमन्त्रीका दूतका रुपमा महेश वस्नेतले भेटे ज्यान मुद्दामा कैद रहेका रेशम चौधरी

काठमाडौं, चैत १३ । नेकपा एमालेका सांसद महेश वस्नेतले व्यक्ति हत्यामा दोषी ठहर भई कैद भोगिरहेका रेशम चौधरीसँग भेट गर्नुभएको छ ।
चरम सत्ता संकटमा फस्नुभएका प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीको समर्थन जुटाउन डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई छुटाउने तयारी गर्नुभएको छ ।
त्यसैका लागि वस्नेतले भेट गरेको जनाइएको छ । भेटमा वस्नेतले ज्यान मुद्दामा सजायँ भोगिरहेका चौधरीलाई रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको दावी गरिएको छ ।
जसपाले आफ्नो पार्टीको समर्थन पाउन चौधरीसहित मधेस–थरुहट आन्दोलनका बन्दी छाड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।
पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतीको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव बर्तमान सरकारमा सामेल भएर के पी शर्मा ओली संग सहकार्य गर्ने हुदैन भनेर  लागेको बेला बर्तमान सरकारमा समाबेस हुन अन्तिम तयारी गरिरहेका सजपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो लगायत नेताहरुले बालुवाटार संग अन्तिम सहमति गर्न लागेको बताइन्छ।
प्रधानमन्त्री ओलीले आफू जसपाको माग पूरा गर्न तयार रहेको भन्दै सरकारलाई समर्थन दिन बारम्बार आग्रह गर्दै आउनुभएको छ । यसैकालागि दुबै दलले कार्यदलस्तरमा छलफल गरेका छन् भने शीर्ष तहमा पनि पटक पटक छलफल भइरहेको छ ।
थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते रेशम चौधरीको नेतृत्वमा कैलालीको टीकापुरमा एक बालक, प्रहरीको एसपीसहत ९ जनाको हत्या गरिएको थियो । उक्त घटनामा चौधरीलाई दोषी ठहर गरी अदालतले जन्मकैदको सजायँ दिएको छ । इमेज च्यानलमा समाचार छ ।